खेती थन्क्याएर घर सजाउँदै थारु समुदाय

थारु बस्तीमा घर स्याहार्ने व्यस्तता

जेष्ठ ११, २०८२

भवानी भट्ट

Tharu community decorates their house after farming

कञ्चनपुर — पुरानो घर भत्काएर कोही काठका खम्बा बोक्दै त कोही खम्बा गाड्दैछन् । महिलाहरू बार लाउने र लिपपोत गर्ने काममा व्यस्त छन् । बेलौरी नगरपालिका–५ को रामनगर थारु बस्तीमा यतिबेला पुरानो घर भत्काएर नयाँ बनाउने काममा जुटेका हुन् ।

गहुँ, तोरी, मसुरोजस्ता हिउँदेबाली भित्र्याएपछि फुर्सदको समय उपयोग गर्दै उनीहरू घर बनाउने काममा जुटेका हुन् । थारु समुदायमा नयाँ घर बनाउने मात्रै होइन, पुरानो घर लिपपोत गर्ने पनि यही बेला हो । त्यही भएर यतिबेला थारु बस्तीका महिला, पुरुष सबै व्यस्त देखिन्छन् ।

‘अहिले खेतीपातीको काम छैन, सबै फुर्सदमा छौं, यही बेला नयाँ घर बनाउने र पुरानो लिपपोत गर्ने काम हुन्छ,’ बेलौरी–५ का जगदीश चौधरीले भने, ‘घर बनाइसकेर बर्खा लागेपछि खेतीपातीमा लाग्छौं ।’ उनको घर पुरानो भएर चुहिने र बार बेलाबेला भत्किने भएको थियो । त्यही भएर पुरानो घर भत्काएर नयाँ बनाउन लागेका हुन् । प्रायः कृषिमा निर्भर थारु समुदायमा खेतीपातीदेखि छरछिमेकमा हुने प्रायः काम सामूहिक रूपमा गर्ने चलन छन् ।

थारु बस्तीमा पछिल्लो समय परम्परागतको सट्टा पक्की घर बनाउने प्रचलन बढ्दै गएको छ । यसले पनि काठ र माटोले बनाएका घर धेरै कम देखिन्छन् । काठ र माटोले बनाएका परम्परागत घर निकै आकर्षक देखिनुका साथै चिसो र गर्मीमा पनि अनुकूल हुन्छन् । पछिल्लो समय काठ कम पाइने र महँगो पनि भएकाले परम्परागत घर कम देखिने गरेको चौधरी बताउँछन् ।Tharu community decorates their house after farmingकञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको रामनगरमा घर बनाउँदै थारु समुदायका महिला र पुरुषहरू । तस्बिर : भवानी भट्ट/कान्तिपुर

‘यो हाम्रो परम्परा नै हो, अहिले पनि चलिरहेकै छ,’ रामनगरकी स्थानीय राजमती चौधरीले भनिन्, ‘पुरुषहरू काठको काम गर्छन्, महिला लिपपोतमा लाग्छन् ।’ उनका अनुसार विगतमा जस्तो काठ र लिपपोतका लागि सहजै माटो उपलब्ध हुँदैन । जसका कारण घर बनाउन समस्या भइरहेको छ ।

नदी वा तलाउको गहिरो भागबाट ल्याइएको सेतो माटोले लिपपोत गरेको घर रंगरोगन गरेजस्तै निकै आकर्षक देखिन्छ । तर अहिले त्यस्तो माटो पाउन निकै गाह्रो हुन्छ । रातो माटोका लागि पनि निकै टाढासम्म पुग्नुपर्छ । महिलाहरूले माटोमा भुसा मिसाएर लिपपोत गर्छन् । जसले बार ठोस जस्तै बन्ने र बर्खाको झरीले पनि धेरै असर गर्न सक्दैन ।

युवाहरू रोजगारीका लागि विदेशिने गरेका कारण गाउँमा घर बनाउन सघाउने जनशक्ति भने निकै कम भएको छ । यो काम पनि बुढापाकाकै काँधमा आएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully