चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि ७२ लाखमा ठेक्का
धनगढी — धेरैजसो स्थानीय तहमा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । तर, धनगढी उपमहानगरपालिकाले नगरको फोहोरलाई संकलन तथा व्यवस्थापन गरेर ‘मोहर’ मा परिणत गरिरहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा फोहोर संकलन तथा प्रशोधन गरी २५ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख इन्जिनियर अशोक अवस्थीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रलाई ७२ लाखमा ठेक्का दिइएको छ । ‘ठेक्का रकम हरेक वर्ष १० प्रतिशतका दरले वृद्धि हुने गरेको छ,’ उनले भने ।
‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सञ्चालन गरिरहेको उपमहानगरले जथाभावी फोहोर फाल्न निषेध गरेको छ । सरसफाइ अभियानका लागि उपमहानगरले टोलटोलदेखि विद्यालयहरूमा समेत डेढ वर्षदेखि सरसफाइ समिति गठन गरेर परिचालन गरिरहेको छ । घर तथा सार्वजनिक क्षेत्रबाट संकलन गर्दा कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै संकलन गरिन्छ । ‘अहिले त बजार धेरै सफा भएको छ,’ धनगढी तारानगरका प्रमेश भट्टले भने, ‘घरमा संकलित फोहोर पनि हरेक साता नगरपालिकाको गाडी आएर लैजान्छ ।’
धनगढीमा दैनिक ५६ टन फोहोर उत्पादन हुने उपमहानगरको आँकडा छ । फोहोरको वर्गीकरण गरी पुनः प्रयोग गर्ने उद्देश्यले उपमहानगरले सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरेको छ । धनगढी–२ स्थित सरस्वती टोलमा गत वर्षको साउनमा बायोग्यास प्लान्टसँगै सूक्ष्म फोहोर वर्गीकरण केन्द्र स्थापना गरिएको हो । नकुहिने प्लास्टिकजन्य, फलाम, रबर, कागज र सिसाजन्य फोहोर छुट्याएर भण्डारण गरी राख्ने गरिएको छ ।
ठेक्का लगाइएपछि धनगढी उपमहानगरपालिकालाई फोहोर संकलनको भारसमेत घटेको छ । १९ वडामध्ये नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गरेर केन्द्रले संकलित फोहोरको वर्गीकरण गरी बिक्री गर्ने गरेको छ । अन्य १० वडामा सरसफाइ अभियानमार्फत व्यापारिक केन्द्रमा डस्बिन राखेर फोहोर संकलन गरिरहेको छ ।
‘गत आर्थिक वर्षमा फोहोर संकलनका लागि कर्मचारी, गाडीलगायत सम्पूर्ण व्यवस्थापनमा चार करोड खर्च भएको थियो,’ इन्जिनियर अवस्थीले भने, ‘यो खर्च यस वर्ष कटौती भएको छ । उपमहानगरले विगतका वर्षमा ५६ टन फोहोर संकलन गरेको थियो । अहिले ४३ टन फोहोर निजी साझेदार र १३ टन फोहोर आफैंले संकलन गरिरहेको उपमहानगरले जनाएको छ । फोहोर व्यवस्थापनको चार पिलर (नीति, बजेट, भौतिक पूर्वाधार र जनचेतना) लाई सक्रिय बनाएर फोहोरमैला व्यवस्थापनमा सफलता प्राप्त भएको अवस्थीले बताए ।
उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र देव तालिम केन्द्रको साझेदारीमा बायोग्यास प्लान्ट जडान गरिएको छ । उपमहानगरले फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सीएनजी) उत्पादन गरिरहेको छ । दैनिक ६० सिलिन्डर ग्यास उत्पादन भइरहेको उपमहानगरले जनाएको छ । उपमहानगरले कुहिने फोहोरबाट दैनिक अढाई टन कम्पोस्ट मल पनि उत्पादन गरिरहेको छ । बायो ग्यास प्लान्टमा दैनिक १८ टन फोहोर खपत हुने गरेको छ ।
उपमहानगरले वडावडामा जनचेतनाका लागि सहजकर्ता परिचालन गरेको छ भने टोलटोलमा टोल सरसफाइ समिति गठन गरिएका छन् । घरदेखि विद्यालयसम्म फोहोरमैला व्यवस्थापनसम्बन्धी जनचेतना र सहभागिता गराउने नीति अनुरूप उत्कृष्ट, अनुकरणीय कार्य गर्ने सरसफाइ समिति, शैक्षिक संस्था (निजी र सरकारी) र ईको क्लबलाई पुरष्कृत गरिँदै आएको उपमहानगरले जनाएको छ ।
उपमहानगरले आफ्नो स्थापना दिवसका अवसरमा ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा योगदान पुर्याएर उत्कृष्ट कार्य गरेबापत धनगढी–२ को आदर्श टोल सरसफाइ समितिलाई १० लाख बराबरको योजना दिएर सम्मानित गरेको थियो । यस्तै, सरसफाइमा उत्कृष्ट गरेबापत वडा– १६ को बेहडाबाबा मावि र वडा–६ को राइजिङ स्टार इंग्लिस स्कुललाई पाँच/पाँच लाख नगदसहित सम्मानित गरेको थियो ।
नगरप्रमुख गोपाल हमालले प्रविधिमा आधारित व्यवस्थापन प्रणालीको उपयोग गरी फोहोरमैलाको दिगो व्यवस्थापन गर्न ‘जिरो वेस्ट’को अवधारणा कार्यान्वयन गरिने नीति लिएको बताए । नगर क्षेत्रमा प्लास्टिक निषेध गरेको धनगढीले प्लास्टिक बोतल संकलन उपकरण जडान गर्ने, सार्वजनिक स्थानमा शौचालय स्तरोन्नति गर्ने, कन्ज्युमर डाटाबेस सिस्टम, सोलिड वेस्ट म्यानेजमेन्ट र इन्फरमेसन सिस्टम, एनवास डाटाबेस सिस्टम तयार गर्ने, दिसाजन्य लेदो व्यवस्थापनका लागि कानुन बनाउने र सतहको पानीका स्रोतको संरक्षण गर्नेलगायतका नीति लिइएको नगरप्रमुख हमाल बताउँछन् ।
सरकारको क्षेत्रीय सहरी विकास कार्यक्रमद्वारा धनगढी–७ पटेलामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र र दिसाजन्य लेदो व्यवस्थापन प्रणाली निर्माण भइरहेको छ । धनगढी उपमहानगर ‘जिरो वेस्ट नेटवर्क सिटी’ को संस्थापक सदस्यका रूपमा पनि पुरस्कृत भएको छ । ग्लोबल एलाइन्स फर इन्सिनेरेटर अल्टरनेटिभ्स् (जीएआईए) ले धनगढीले नगरक्षेत्रमा उत्पादन हुने नगरजन्य फोहोर व्यवस्थापन गर्न सफल भएकोमा उक्त नेटवर्क गठनको संस्थापक सदस्यता दिएको हो ।
