उनी प्रसव पीडामा छट्पटाइरहिन्, भीड तस्बिर खिच्नमै व्यस्त रह्यो

जेष्ठ ६, २०८२

रञ्जना बिसी

As she writhed in labor pains, the crowd was busy snapping pictures

कैलाली — मंगलबार बिहान करिब ५ वजे चन्द्रा आचार्य प्रसव पीडाले छट्पटाउन थालिन् । घरमा आफन्त कोही थिएनन् । कोठा नजिकका मान्छे नउठेपछि उनी सहयोग माग्न घरबाहिर निस्किइन् । करिब ४ घण्टा बाटोमै छट्पटाएपछि उनको उद्धार गरिएको थियो ।

मंगलबार बिहान चार घन्टा बाटाेमा छटपटाएपछि आफूले चिनेजानेका पाण्डे थरको घरसम्म घिस्रिएरै पुगेकी थिइन् । त्यो उनै पाण्डेको घर थियो, जसले उनलाई ‘अप्ठ्यारो पर्दा सम्झनु हामी सहयोग गर्छौं’ भन्ने आश्वासन दिएका थिए । तर, विडम्बना ! जुन आश लिएर उनी त्यहाँ पुगिन्, त्यो घरका मान्छेले गेटसम्म पनि जान दिएनन् । बरु त्यहाँबाट टाढा भगाए । त्यसपछि के भयो– चन्द्रालाई केही याद छैन ।

मंगलबार बिहान ९ः१० बजे खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवालाई स्थानीयले फोन गरे– ‘यहाँ एक जना महिला छट्पटाइरहेकी छन् । हजुर आइदिनु पर्यो ।’ उनी तुरुन्तै घरबाट निस्किन् र घटनास्थल पुगिन् ।

घटनास्थलमा देउवाले जे दिखिन्, यसरी सुनाइन्, ‘म त्यहाँ पुग्दा अचम्ममा परेँ ।  उहाँ (चन्द्रा) बाटोमा छट्पटाइरहनु भएको थियो । त्यहाँ वरपरका मानिसहरु जम्मा भएर हेरिरहेका थिए । उहाँको नजिक जान कोही मानिरहनु भएको थिएन । किन छट्पटाइरहेकी हुन्  भन्ने समेत भीडलाई थाहा थिएन । सबै जना भिडियो मात्रै बनाइरहेका देखिन्थे ।  म नजिक गएर हेर्दा सुत्करी व्यथा लागेको रहेछ । पछि मैले अरु महिलालाई बोलाउँदा समेत कोही नजिक परेनन् ।’

देउवासँग खैरानाका प्रहरी हवल्दार पनि गएका थिए । उनी पुरुष भएका कारण नजिक गएनन् । चन्द्रा पीडाले अचेत अवस्थामा थिइन् । भीडका महिला उनलाई सहयोग गर्नुको सट्टा आरोप लगाइरहेका थिए– ‘कसको बच्चा रहेछ । पहिला त छैन, होइन भन्थी ।’ यत्तिकैमा भीड भिडियो खिच्न र रमिता हेर्नमा व्यस्त भयो ।   प्रहरी जवान चन्द्रिकाले एक्लै भए पनि साहसका साथ उनलाई सघाइरहिन् । अधिक प्रसव पीडापछि करिब ११ बजे चन्द्राले छोरालाई जन्म दिइन् ।

त्यसको केहीछिनमै सामाजिक सञ्जालमा चन्द्रा छट्पटाइरहेका भिडियो भाइरल भए । प्रहरी जवान चन्द्रिकालाई साहसपूर्ण काम गरेको भन्दै बधाईको ओइरो आउन थाल्यो ।  उनी बधाई थाप्न भन्दा चन्द्रालाई थप जोखिम नहोस् भनेर नजिकको अस्पताल  पुर्‍याउने प्रयासमा थिइन् । लगत्तै गोदावरी नगरपालिका–१ स्थित पद्यमा अस्पतालको टोली एम्बुलेन्ससहित घटनास्थल पुग्यो । र, चन्द्रालाई उद्धार गरेर अस्पताल पुर्यायो । 

यतिबेलासम्म विभिन्न मिडियामा उनले बाटोमा बच्चा जन्माएको कुरा आइसकेको थियो । केही मूलधारका मिडियाले त उनको मानसिक अवस्था ठिक नरहेको समेत लेख्न भ्याए । कान्तिपुरकर्मी अस्पताल पुग्दा बच्चा चन्द्रिकाको काखमा थियो । आमा र बच्चा एकअर्कालाई हेरिरहेका थिए । उनीसँग गरेको कुराकानी अनुसार उनको मानसिक अवस्था सामान्य छ । उनले बताएको घर ठेगाना र आफू पढेको विद्यालयबारे सोधखोज गर्दा सुर्खेत उनको जन्मघर भएको पुष्टि भयो ।  As she writhed in labor pains, the crowd was busy snapping pictures

चन्द्रिकाले बताए अनुसार उनको घर सुर्खेतको मेल्कुनामा हो । आमाबुवाको मृत्यु भइसकेको छ भने भाइ र बहिनीले विवाह गरिसकेका छन् । सुर्खेतबाट उनी २ वर्षअगाडि रोजगारीका सिलसिलामा कैलाली आएकी थिइन् । यतै बस्दा बझाङका डम्मर जोशीसँग विवाह गरेको उनले बताइन् । रोजगारी गर्न भारत जान्छु भन्दै हिँडेका जोशी अहिले सम्पर्कविहीन छन् । उनी अत्तरियाका पसलहरुमा काम गर्दै कोठा भाडामा बसेर गुजारा चलाउँदै आएकी थिइन् ।  

चेक जाँचपछि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अहिले उनी पद्यमा अस्पताल अत्तरिमा छन् । दृष्टि फाउन्डेसन कैलालीकी अध्यक्ष कल्पना भट्ट पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन् । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै भोलि चन्द्रिकालाई दृष्टि फाउन्डेसनमा ल्याइने भट्टले सुनाइन् ।

रञ्जना

Link copied successfully