अध्यक्ष रञ्जिताको लिखित निर्देशन संसदीय दलद्वारा कार्यान्वयन भएन
धनगढी — नागरिक उन्मुक्ति पार्टीमा रेशम–रञ्जिता दम्पतीको संघर्षबीच सुदूरपश्चिम प्रदेशमा रेशम चौधरी पक्षधर प्रदेश सांसद रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन् । पार्टी अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठ चौधरीको निर्देशनात्मक पत्रविपरीत संसदीय दलले रेशम चौधरी पक्षधर रामेश्वर चौधरीलाई सिफारिस गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई निर्देशनात्मक पत्र र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन् । तर रेशमको पक्षमा बहुमत रहेको संसदीय दलले भने रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । उनी यसअघि पनि मन्त्री भएका थिए ।
यसअघि उनी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएका थिए । चैत १६ गतेदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । आर्थिक लेनदेनको अडियो प्रकरणमा नागरिक उन्मुक्तिबाट मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए ।
