डडेल्धुरा — माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध जनजागरण अभियान जरूरी रहेको बताएका छन्। उनले भ्रष्टाचारविरुद्ध जनजागरण अभियान सञ्चालन नगरे मुलुक नै संकटमा पर्ने खतरा रहेको बताए । ‘हामीले सुशासन र भ्रष्टाचारविरुद्ध काम गर्दा दलाल पुँजीपतिलाई मन परेन,’ उनले भने ।
बैतडीको पाटनबाट ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरेर डडेल्धुरा पुगेका अध्यक्ष दाहालले सबै समुदायसाग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।
डडेल्धुराको बसपार्कमा आयोजित कार्यक्रममा उनले भने, ‘बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौं । विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।’
उनले मधेश आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिकालाई ऐतिहासिक बताउँदै वर्तमान सत्तालाई जनमुखी बनाउने पहल आवश्यक रहेको बताए । ‘म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा नै मध्यपहाडी लोकमार्गको प्रस्ताव ल्याएको थिएँ,’ उनले स्मरण गरे, ‘हिजोको हाम्रो अभियानलाई आज जनतासँग मिलेर अझै गहिरो रूपमा अगाडि बढाउने समय आएको छ ।’
उनले मिटरब्याजपीडितका लागि आफ्नै सरकारको पालामा कानुन बनेको र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ रहेको बताए ।
