समयमै उपचार नपाउँदा यार्चा संकलन गर्न गएका बालकको मृत्यु

जेष्ठ १, २०८२

वसन्तप्रताप सिंह

Death of a child who went to collect Yarcha due to lack of timely treatment

बझाङ — समयमै उपचार नपाएका कारण बझाङमा यार्चा संकलनका लागि गएका एक बालकको ज्यान गएको छ । साइपाल गाउँपालिका–१ का १४ वर्षीय कविन्द्र बोहराको उपचारका लागि ल्याउँदै गर्दा ज्यान गएको हो ।

धलौन माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत बोहरा परिवारसहित एक हप्ताअघि यार्चा टिप्न साइपालकै माजा भन्ने ठाउँमा गएका थिए ।

‘लेक गएको दुई दिनपछि सास फुल्ने समस्या हुन थाल्यो । धेरै गाह्रो भएपछि उपचारका लागि बोकेर गाउँसम्म पुर्‍यायौं,’ मृतकका काका नाता पर्ने सविन बोहराले भने, ‘गाउँ पुर्‍याउन नपाउँदै ज्यान गइहाल्यो ।’

विकट हिमाली क्षेत्रमा यार्चा संकलन गर्न गएका यहाँका स्थानीयले प्रत्येक वर्ष यसरी नै ज्यान गुमाउने गरेका छन् । समयमै उपचार नपाएर, भिरबाट लडेर, हिम पहिरोमा परेर तथा खोला तर्ने क्रममा बगेर बझाङमा प्रत्येक वर्ष सात–आठ जना यार्चा संकलकहरूले ज्यान गुमाउने गरेका छन् ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully