सुदूरपश्चिममा 'आइरन चक्की'को हाहाकार

औषधि खरिद गर्ने बजेट नभएको भन्दै केन्द्रको परिपत्र, स्थानीय तह अन्योलमा

वैशाख २२, २०८२

मोहन पनेरु

The cry of 'Iron Chakki' in the Far West

डोटी — नेपाल सरकारले ९८ प्रकारका औषधि नि:शुल्क वितरण गर्दै आएको छ । यही सूचीमा पर्ने ‘आइरन चक्की’ सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा अभाव भएको छ । ‘आइरन चक्की’ अभाव हुँदा प्रसूति जाँचका लागि आएका गर्भवती महिला निराश भएर फर्कने गरेका छन् ।

केन्द्रबाट नै यो औषधि खरिद गर्ने बजेट नभएको भनेर परिपत्र गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । ‘केन्द्रको यो पत्र प्राप्त गरेसँगै हामीले डोटीका नौ वटै स्थानीय तहलाई खरिद गर्नु  भनेर चिठी पठाएका छौं,' उनले भने, 'अहिले हामीलाई कुनै औषधि खरिद गर्ने अधिकार छैन । संघ, प्रदेश र स्थानीय सरकारलाई नै अधिकार दिइएको छ । अब उहाँहरूले आफ्नो तरिकाले औषधि व्यवस्थापन गर्नुहोला ।'

जिल्लामा औषधि अभावको समस्या आउन सक्छ भनेर ६ महिनाअगाडि नै कुरा उठेको स्वास्थ्य निर्देशनालय राजपुरका प्रमुख डा. खगेन्द्र बमले बताए । उनले भने, 'हामीले समयमै यसबारे संघ सरकारलाई जानकारी दिएका हौं तर बजेट अभावका कारण औषधि किन्न सकिएको छैन । थोरै मात्रामा स्थानीय सरकारलाई खरिद गर्नु भनेका छौं, उहाँहरु खरिद गर्नुहुन्छ होला ।' प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटपछि मात्रै खरिद गर्ने बमले बताए । 

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लामा अहिले ५ हजार ६ सय महिला गर्भवती छन् । तर जिल्लामा आइरन चक्की अभाव भएको कार्यालय प्रमुख झपट ढुंगानाले जानकारी दिए । उनले भने, 'हामीसँग भएको २० हजार ट्याब्लेट औषधिको म्याद अप्रिलमा सकिएको छ ।'

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला मानिने बाजुरामा पनि आइरन चक्की अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख महेश चन्दले भने, 'हामीलाई माथिबाट भएको पत्रचारअनुसार स्थानीय सरकारलाई एक महिनाअघि नै आफै खरिद गर्नु भनेका छौं । अहिले यो औषधि सेवन गर्ने २ हजार ८ सय ४६ जना छन् ।' 

यस्तै समस्या जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले पनि झेल्दै छ । डडेल्धुरा स्वास्थ्य कार्यालय प्रमुख केशर साउदले आफूहरुसँग भएको २ लाख ट्याब्लेट कैलाली पठाएको बताए । कार्यालयको तथ्यांकअनुसार जिल्लामा २ हजार ८ सय ९७ जना गर्भवती छन् ।   

दार्चुलामा भने एक महिनाका लागि आइरन चक्की मौज्दात रहेको कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा आफूहरु अन्योलमा परेको उनको भनाइ छ । 

सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि समस्या देखिएको छ । कञ्चनपुरमा ११ हजार २ सय ८ महिला गर्भवती रहेको कार्यालय प्रमुख ओम प्रकाश जोशीले बताए । डोटीमा गर्भवतीको तथ्यांक यकिन नभएको कार्यालय प्रमुख रमेश मलासीले बताए । 'हामीले जिल्लाका सबै स्थानीय तहलाई पत्र पठाएका छौं,' उनले भने, 'अब खरिद गर्नुहुन्छ होला ।' 

कैलालीमा पनि आइरन चक्की अभाव भएको स्वास्थ्य सूचना अधिकारी तेजविक्रम शाहीले बताए । सुदूरपश्चिम प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कैलालीका अनुसार अहिले प्रदेशभर नै आइरन चक्कीको अभाव छ । कार्यालय प्रमुख झनक ढुंगानाले भने, 'हामीसँग बजेट छैन । यस विषयमा केन्द्रमा पनि कुरा गरेका थियौं । माथिबाट पनि बजेट अभाव रहेको जानकारी आयो । असारसम्म स्थानीय तहले आफै व्यवस्थापन गर्नु भनेर पत्र पठाएका छौं ।' 

डोटीको शिखर नगरपालिकाले भने खरिद गरेर सबै स्वास्थ्य संस्थालाई वितरण गरिसकेको पालिकाका स्वास्थ्य संयोजक हरिशचन्द्र शाहीले बताए । 'हामीसँग असारसम्मका लागि पर्याप्त छ,' उनले भने । 

के आई सिंह गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बडीकेदार गाउँपालिका, आदर्श गाउँपालिका र जोरायल गाउँपालिकामा पनि एक महिनाका लागि मौज्दात रहेको ती पालिकाले बताएका छन् ।

दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिकाले भने खरिद प्रकिया सुरु गरिनसकेको स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।

सरकारी स्वास्थ्य संस्थामा आइरन चक्की अभाव भए पनि निजी क्लिनिकहरूले बिक्री गरिरहेका छन् । यो औषधि नहुँदा गर्भवती र नवजात शिशुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

मोहन

Link copied successfully