शिक्षक आन्दोलनको असर: निजी विद्यालयमा पढाई भइहँदा सामुदायिकका भने घरमै बस्छन् 

वैशाख १६, २०८२

रञ्जना बिसी

Impact of teachers' movement: While studying in private schools, public schools stay at home

कैलाली — कैलालीकी ११ वर्षीया जुनिशा चौधरी अहिले घरमै बस्न बाध्य छिन् । निजी विद्यालय पढ्ने सँगैका साथि विद्यालय गइरहदा जुनिशा घरमै बसेकी छिन् ।

धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयमा ३ कक्षा पास भएपछि उनी ४ मा भर्ना हुन पाएकी छैनन् । भन्छिन्, ‘हिजो साथीहरू स्कुल गएका थिए । मलाई पनि स्कुल जान मन लाग्यो तर हाम्रो स्कुल बन्द छ । दिउँसो खेल्नलाई पनि साथि कोही हुँदैन ।’

छोरीले विद्यालय जान कर गरेपछि जुनिशाकी आमाले उनलाई निजी विद्यालयमा भर्ना गर्ने सोचिन् । तर निजी विद्यालयले कक्षा उत्तीर्ण भएको प्रमाण पत्र चाहिने भन्दै उनलाई फर्कादियो । सर्टिफिकेट लिन त्रिनगर पुग्दा विद्यालयको गेटमा ताला लागेको थियो ।

‘अहिले बोर्डिङमा सरुवा गरौं भने पनि सरकारी स्कुलले प्रमाणपत्र दिएको छैन । त्यो नदिए बोर्डिङ स्कुलले पनि भर्ना लिँदैन’, चौधरी भन्छिन्, सरकारीमा पढाउने शिक्षकका छोराछोरी बोर्डिङमा पढिहेका छन् । हामी गरिबका छोराछोरीको उनीहरुलाई के चिन्ता?’

यो पीडा जुनिशा मात्र होइन, यस्ता प्रमाणपत्र नपाएका कारण धेरै विद्यार्थीहरू नयाँ विद्यालयमासमेत भर्ना हुन सकेका छैनन् । शिक्षा ऐन लगायतका विभिन्न माग राख्दै शिक्षकहरू आन्दोलनमा गएपछि सामुदायिक विद्यालय बन्द छन् । 

निजी विद्यालयमा पठनपाठन सुरु भइसक्दा सरकारी विद्यालयले भर्ना अभियानसमेत रोकेका छन् । जसको प्रत्यक्ष असर विद्यार्थीहरुमा परेको छ ।

विद्यार्थी भर्नाको विषयलाई लिएर त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपालसिंह खड्कासँग कुरा गर्दा सरकारले शिक्षकका माग पूरा गरे मात्र विद्यालय खुल्ने सहमति भएको बताए । उनले माग पूरा नभएसम्म विद्यालयका सबै गतिविधि रोक्ने जानकारी दिए । 

खड्का अहिले शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं पुगेका छन् । 

आफ्ना छोराछोरी निजी विद्यालयमा पढाइरहँदा सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिका भर्नासमेत नभएकोमा एक शिक्षकले दुःख व्यक्त गरे । ‘हाम्रो पनि बाध्यता हो । रहरले आन्दोलन गरेका हैनौं । विद्यार्थीले पढ्न नपाएकोमा हामीलाई पनि दुःख लागेको छ,’ उनले सुनाए ।

शिक्षक आन्दोलनका कारण भर्ना अभियान र पठनपाठन मात्र प्रभावित भएको छैन, विद्यार्थीहरूको परीक्षा पनि अनिश्चित बन्यो । तोकिएको समयमा परीक्षा नहुँदा विद्यार्थीहरू मानसिक तनावमा परेका छन् ।

धनगढीकी यशोदा शर्मा कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी बोर्ड परीक्षा दिन तयार थिइन् । 

सुरुमा ११ गते परीक्षा सुरु हुने भनिएको थियो । त्यो मितिमा तयारी गरेकी यशोदा पछि २१ गते सारिएको खबरले मानसिक तनावमा परिन् । अब त्यो मिति पनि परिक्षा हुने हो कि होइन भन्ने उनलाई शंका छ । 

‘पहिले भनेका थिए ११ गते परीक्षा हुन्छ, त्यही अनुसार तयारी गर्‍यौं । फेरि २१ गते भनियो । अब त्यो पनि पक्का हो कि होइन, थाह छैन,’ उनी भन्छिन्, ‘अब त पढ्ने इच्छा नै हरायो । चिन्ता मात्रै लाग्छ ।’ शिक्षकहरु आफ्नो अधिकार माग्न भन्दै आन्दोलनमा उत्रिँदा विद्यार्थीहरुको अधिकार हनन् भएको यशोदा बताउँछिन् ।भन्छिन्, ‘समयमा परीक्षा दिन पाउनु हाम्रो अधिकार हो तर पाएनौं ।’

परीक्षा के हुने हो भन्ने अनिश्चितताले यशोदा मात्र होइन, उनीजस्ता हजारौं विद्यार्थीहरू अन्योल र निराशामा डुबेका छन् । परीक्षा स्थगनले विद्यार्थीहरू मानसिक र भावनात्मक रूपमा थकित बनेको शिक्षा विकास तथा समन्वय ईकाइ कैलालीका वरिष्ठ शाखा अधिकृत प्रतापसिंह धामी बताउँछन् । उनले विद्यार्थीहरुलाई मानसिक तनावमा नपरेर परीक्षाका लागि तयारी अवस्थामा बस्न सुझाव दिए ।

धामीले शिक्षकहरूले आफ्नो अधिकारका लागि आन्दोलन गर्नु स्वाभाविक भए पनि त्यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा परेकोप्रति दु:ख व्यक्त गरे ।

रञ्जना बिसी

Link copied successfully