सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली आज भारत भ्रमणमा जाँदै

सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली आज भारत भ्रमणमा जाँदै

वैशाख १६, २०८२

अर्जुन शाह

A team with the Chief Minister of Far West is going on a visit to India today

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली मंगलबार भारत भ्रमणमा प्रस्थान गर्न लागेको छ। मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भारत सरकार विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा भारत जान लागिएको हो। मुख्यमन्त्री नेतृत्वको टोलीले बुधबारदेखि औपचारिक भेटघाट र अवलोकन सुरु गर्नेछ। बुधबार बिहान राजघाटमा जाने, भारतको नयाँ संसद भवनको अवलोकन भ्रमण गर्ने, विदेश राज्यमन्त्री र गृह राज्यमन्त्रीसँग भेटवार्ताको कार्यक्रम रहेको छ। बुधबार अपराह्न विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जीतु उपाध्यायले बताए।

बिहीबार ऊर्जा सम्बन्धी अवलोकनका लागि फरीदाबाद जाने, नयाँ दिल्लीमै रहेको नेशनल स्किल डेभलपमेन्ट कर्पोरेशनसँग अन्तरक्रिया, भारतीय कृषि अनुसन्धान संस्थानको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोली शुक्रबार दिल्लीबाट उत्तराखण्ड आउने छ। उत्तराखण्डमा प्रदेश प्रमुख, मुख्यमन्त्री, संस्कृति तथा पर्यटन मन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै त्यसै दिन होटल म्यानेजमेन्ट इन्स्टिच्युटको भ्रमण र साँझ त्यहाँका संस्कृति तथा पर्यटन मन्त्रीले रात्रीभोज दिने छन्। टोली शनिबार तेरीधाम प्रस्थान गर्नेछ।

उत्तराखण्डबाट टोली उत्तरप्रदेश प्रस्थान गर्नेछ। उत्तरप्रदेशमा अयोध्या, रामजन्मभूमि मन्दिरलगायत धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यसूची रहेको छ। सोमबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि टोली २२ गते लखनउबाट धनगढी फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ।

‘प्रदेश गठन भएपछि प्रदेश तहबाट पहिलो पटक छिमेकी राष्ट्रको औपचारिक भ्रमणमा जान थालेका छौं,’ मुख्यमन्त्री शाहले भने, ‘नयाँ दिल्लीमा विभिन्न तहमा हुने भेटघाट, छलफल तथा विभिन्न स्थानहरूको अवलोकन भ्रमणले सुदूरपश्चिम सरकारको सम्बन्ध सम्पर्कलाई सकारात्मक बनाउने छ। साथै सीमावर्ती उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग हुने भेटघाट र छलफलले पनि दुई देशका प्रदेशहरूसँगको सम्बन्ध थप प्रगाढ हुनुका साथै सरसहयोगको दायरा बढ्ने छ।’

भ्रमण टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन्।

यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जीतु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागी रहने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश संरचना गठन भएयता सरकारको औपचारिक निमन्त्रणामा भारत जाने यो पहिलो टोली हो।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully