कैलाली — कैलाली प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार कार्यालय नजिक जाँच गर्दा डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय किरण बहादुर विकका साथबाट २ ग्राम १२० मिलिग्राम खैरो हिरोइन फेला परेको हो ।
त्यसैगरी, उपमहानगरपालिका–३ शिशा पोस्ट नजिकैबाट गोदावरी नगरपालिका–२ का २७ वर्षीय सागर चौधरीको साथबाट १ ग्राम १४० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरो शाखा धनगढीको संयुक्त टोलीले उपमहानगरपालिका–३ बोराडाँडीबाट गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीया बेलमती बोहराको साथबाट २ किलो ५८० ग्राम चरेश बरामद गरेको छ । उपमहानगरपालिका–२ ब्यारेलमा जाँच गर्दा बैतडी दशरथचन्द नगरपालिका–१ का २७ वर्षीय विरेन्द्र सिंह भाटबाट ६६० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीको भनाइ छ ।
जम्मा ३ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन र २ किलो ५८० ग्राम चरेस बरामद गरी चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
