बगर खेतीमा मुक्त कमैया : अढाई लाख रुपैयाँसम्म कमाइ

बगरमा उत्पादन, सडकमा बिक्री

वैशाख १३, २०८२

भवानी भट्ट

Free Earning in Bagar Farming: Earning up to 2.5 lakh rupees

कञ्चनपुर — कृष्णपुर नगरपालिका-२ बाणीका दुतराज राना बिहानै बनहरा नदी किनारको बगरमा पुग्छन् । जहाँ उनले बगर खेती गरेका छन् । त्यही बगरमा पुगेर उनी तरबुज, काँक्रा, करेला र लौका लगायतका तरकारी टिप्छन् । त्यही तरकारी बोरीमा हालेर पूर्व-पश्चिम राजमार्गको बनहरा पुल छेउमै पुग्छन् । त्यही बनाएको टहरामुनि बसेर दिनभरि त्यही बगरको उत्पादन बिक्री गर्छन् ।

‘दिनभरिमा तीन/चार क्वीण्टलसम्म बिक्री हुन्छ,’ रानाले भने, ‘बिहानदेखि सांझसम्म सडक किनारमै बसेर बिक्री गर्छु ।’ उनले पुस अन्तिमतिर बगरमा लहरे तरकारी रोपेका हुन् । चैत अन्तिमदेखि उनले उत्पादन बिक्री गर्न थालेका हुन् । जेठ अन्तिसम्मै यही काममा व्यस्त हुन्छन् । रानाले यो अवधिमा दुई/अढाई लाख कमाउँछन् ।

रानाले नदी किनारकै आफ्नो जमिनमा पनि लहरे तरकारी रोपेका छन् । बगरको उत्पादन सकिएपछि आफ्नै बारीमा लगाएको उत्पादन तयार हुन्छन् । तर अहिलेजस्तै सडक किनारमा बसेर बिक्री गर्दैनन् । त्यतिबेला भने उनी नजिकको बजारमा पुर्‍याएर बिक्री गर्छन् ।

बगरमा तरकारी उत्पादन गर्न धेरै मिहिनेत र लगानी हुन्छ । चिसोमा बिरुवा उमार्नै गाह्रो हुन्छ । त्यही भएर प्लाष्टिकले ढाक्नुपर्छ । त्यसका लागि धेरै खर्च लाग्ने उनी बताउँछन् । यतिबेला बनहरा पुलको दुवैतर्फ बगरको उत्पादन बिक्री गर्न सडक छेउमा लहरै टहरा बनेका छन् ।

तीनै टहरामुनि बसेर कृषकहरूले आफ्नो उत्पादन बिक्री गरिरहेका छन्। वैशाख जेठको प्रचण्ड गर्मी र लु चलेका बेला समेत उनीहरू यही काममा व्यस्त हुन्छन् । ‘तीन विघामा तरभुज र अन्य तरकारी लगाएको छु,’ बाणीकै नन्दलाल रानाले भने, ‘तीन/चार महिनादेखि बगरमै छौं, सुरुमा हुर्काउन मिहिनेत गर्नुपर्‍यो, अहिले चोरी हुने डरले बगरमै बस्नुपर्छ ।’ उनले सडक किनारमा बसेर दैनिक ५ क्विण्टल बढी तरकारी बिक्री गर्छन् ।

बनहरा नदी किनारमा ६० बढी परिवारले बगर खेती गरेका छन् । ५ कठ्ठादेखि तीन/चार विघासम्म गरेर ठूलो मात्रामा उत्पादन हुन्छ । कतिपयले बगरसंगै धान गहुँ उत्पादन हुने खेतमा समेत बसन्ते तरकारी लगाएका छन् । अहिले उत्पादन बिक्रीका लागि भारत गएकाहरू पनि घर फर्किन्छन् ।

अहिले तरबुज, काँक्रा र लौका ५० रुपैयाँ प्रतिकिलो तथा करेला सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । कतिपयले साइकलमा बोकेर गाउँ-गाउँ डुलेर पनि बिक्री गर्छन् । उनीहरूले नगरद तथा गहुँसंग साटेर पनि बिक्री गर्छन् ।

‘अहिले उत्पादन भएको बिक्री गर्न त रमाईलो लाग्छ, तर उत्पादन गर्न धेरै मिहिनेत र लगानी लाग्छ,’ बगर खेतीमै लागेका कृष्णपुर-२ का पंकज रानाले भने, ‘पुसमै लगाएको अहिले बिक्री गर्न तयार भयो, माघमा लगाएको जेठमा उत्पादन हुन्छ ।’

उनी पनि बिहानदेखि साँझसम्मै सडक किनारमा बसेर बगरको उत्पादन बिक्री गरिरहेका छन् । यसैबाट घर खचै चलाउछन् । उनी बाह्रै महिना तरकारी उत्पादन गर्छन् । अहिले काँक्रा, करेला, लौका, फर्सी लगायत उत्पादन गरेका छन् ।

बनहरा नदी किनारमा मुक्त कमैया परिवारको बसोबास छ । अहिले बगरमा उत्पादन गर्ने अधिकांस तीनै मुक्त कमैया हुन् । यसले उनीहरूको आर्थिकस्तरमा सुधार हुँदै गएको छ । सुरुमा घरमै खानका लागि बगर खेती सुरुवात गरेकाहरू अहिले एक दिनमा चार/पाँच क्वीण्टलसम्म उत्पादन गरिरहेका छन्।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully