माहुरीपालनले चिनिएका किसान

‘अहिले यो व्यवसायबाट निके खुसी छु, शुद्ध मह खान पाइन्छ, बेचेर घर परिवारको खर्च पनि चलेको छ’

वैशाख ५, २०८२

भवानी भट्ट

A farmer known for beekeeping

कञ्चनपुर — आँगनभरि माहुरीका घार छन् । बिहान साँझ तिनकै धुनमा दिन बित्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ वनगाउँका ५० वर्षीय नरेन्द्र खत्रीको दैनिक एक दशकदेखि यसैगरी बितिरहेको छ । माहुरीपालन मात्रै होइन घरमा आउने जोकोहीलाई माहुरी र महका बारेमा पनि उनी जानकारी दिइहाल्छन् ।

सुरुमा उनले केही व्यवसाय गर्नुपर्छ भन्ने योजनाअनुसार भैंसी पालन थाले । एक/दुई वर्ष त्यसमै अल्झिए । बिस्तारै माहुरी पाल्ने इच्छा जाग्यो । १० वर्षअघि ५ घारबाट सुरु भएको  उनको माहुरी पालन अहिले एक/डेढ सय घारसम्म पुगेको छ । यही माहुरीपालन उनको आम्दानीको स्रोत बनेको छ ।

सानोमा खत्री मह खान निकै रुचाउँथे । जंगलमा मह निकाल्न पनि गइरहन्थे । त्यही रुचिले उनलाई माहुरीपालनसम्म डोर्‍याएको हो । ‘अहिले यो व्यवसायबाट निके खुसी छु, शुद्ध मह खान पाइन्छ, बेचेर घर परिवारको खर्च पनि चलेको छ,’ खत्रीले भने, ‘यति मात्रै होइन  माहुरीपालन गर्न चाहने कृषकलाई आवश्यक ज्ञान र सीप पनि दिन पाएको छु ।’

खत्रीका अनुसार सुदूरपश्चिममा माहुरीका लागि चरन क्षेत्र राम्रो छ । तोरीदेखि जामुन, चिउरी, लिचीलगायत माहुरीका लागि स्रोत हुन् । माहुरी चराउनकै लागि उनी दार्चुलाको मार्मादेखि कैलाली कञ्चनपुरका फाँटसम्म घार सार्दै हिँड्छन् । एकपटक गाडीमा घार बोकेर चरन क्षेत्रमा पुर्‍याउँछन् । त्यसपछि स्थानीयलाई नै जिम्मा दिएर घर फर्किन्छन् ।

A farmer known for beekeepingखत्रीले विश्वमा धेरै पालिने मेलिफेरा र एसियामा बढी पालिन सेसेना जातका माहुरीपालन गरेका छन् । मेलिफेरा युरोपतिर बढी पालन गरिन्छ । तर सेरेना एसियामा बढी पालिन्छ । यो जंगली माहुरी पनि हो । यसलाई आधुनिक घारमा राखेर पालन गर्न थालिएको हो ।

आधुनिक घारमा विभिन्न खालका खाना बनाइएका हुन्छन् । जसमा मह छुट्टै तयार हुन्छ । यसलाई सिधै खान मिल्छ । यो निकै स्वादिष्ट र रोग प्रतिरोधीसमेत हुन्छ । त्यही भएर ग्राहकले बढी रुचाउने गरेको उनी बताउँछन् । यो रुखमा पाकेको फल जस्तै सिधै खान मिल्ने खत्री बताउँछन् ।

‘महका बारेमा पनि धेरैलाई जानकारी छैन, मिठो भए पुग्छ,’ खत्री भन्छन्, ‘यत्ति मात्रै होइन, मह कसरी उत्पादन गरिएको छ, सबै थाहा पाउन सके राम्रो मह पहिचान गर्न सकिन्छ ।’ उनले सयदेखि डेढ सय हाराहारी घारमा माहुरी पालन गरिरहेका छन् । कहिले घटबढ भइरहेको हुन्छ । यसबाट उत्पादन हुने महबाटै उनले वर्षमा १०/१२ लाख आम्दानी गरिरहेका छन् । चराउनका लागि घार यताउता लैजाँदा उनी दैनिक ज्यालादारीमा कामदार खोज्छन् । अन्य समय आफैं जुट्छन् ।

भैंसीसँगै माहुरीपालन थालेका उनले माहुरीमा राम्रो देखेपछि यसमै बढी ध्यान दिएका हुन् । यद्यपि उनले अहिले पनि भैंसीपालन छाडेका छैनन् । सोचेभन्दा राम्रो नतिजा र आम्दानी भएपछि माहुरीपालनमै लागेको खत्री बताउँछन् । पछिल्लो समय विभिन्न किसिमका मेला महोत्सवमा पनि उनी आफ्नो उत्पादनसहित पुग्छन् । मेला महोत्सवमा उनी आफ्नो उत्पादन चखाएर मह र माहुरीबारे जानकारी दिन्छन् । यसले व्यवसायसँगै सीप र ज्ञानसमेत बाँड्न पाइएको उनी बताउँछन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully