असिनाले गहुँबाली र तरकारीमा क्षति

चैत्र ३१, २०८१

रासस

Hail damage to wheat and vegetables

बैतडी — वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले  पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएको हो । बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ ।

अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्‍याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए। असिनाले खेतबारी सेताम्मे भएका छन् । उनले भने, 'गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्‍यो ।'

दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका तरकारी नष्ट गरेको बताए। उनले फलफूल, आलु, प्याज, लसुन तथा  खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको बताए। । 'पाक्न थालेको बालीनाली र तरकारी  असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरू चिन्तित भएका छन्,' उनले भने। 

कृषि ज्ञान केन्द्रले यकीन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।

रासस

Link copied successfully