चट्याङ लागेर आमाको मृत्युपछि ५ बालबालिका अलपत्र
डोटी — ८० वर्षीया काली दमाईले जीवनको उतरार्द्धमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पनै गरेकी थिइनन् । बुधबार राती सायल गाउँपालिका–६ दल्लेखस्थित घरमा परेको चट्याङले बुहारी कमलाको मृत्यु भएपछि उनका ३ महिने नाति शंकरसहित पाँच नाति–नातिना अलपत्र परेका छन् ।
चट्याङले घाइते भएका उनीहरू जिल्ला अस्पताल डोटीमा उपचाररत छन् । आँखैअगाडि चट्याङ लागेर मृत्युवरण गरेकी बुहारीको घटनाले विक्षिप्त रहेकी काली अस्पतालमा स्तब्ध छिन् । बेलाबेला मूर्च्छा पर्ने र बर्बराउने गरिरहेकी छन् ।
त्यसैमाथि तीनमहिने शिशु शंकरले आमाको दुध खान नपाएपछि जिल्ला अस्पताल डोटीमा चिच्याइरहेका छन् । जिल्ला अस्पताल डोटीको जनरल वार्डमा भर्ना भएका उनीहरूलाई अस्पतालले निःशुल्क उपचार र खानाको व्यवस्था गरिदिएको जनरल वार्डकी अहेब विपना जोशीले बताइन् । तीनमहिने शिशु शंकरलाई आमाको दुध नभएपछि ल्याक्टोजिन दिइरहे पनि निरन्तर रोइरहेको अहेब जोशीले जानकारी दिइन् ।
उनलाई १० वर्षीया दिदी ताराले सम्हालिरहेकी छन् । ‘भाइ रुएको रुएइ छ, एकबर ल शान्त नै छिन,’ डोटेली लबजमै ताराले भनिन्, ‘पापा (बुवा) लइ अइलसम्म नइपुग्या, बज्यै त्यसई ढलेकी ढलेइ छन् ।’ अस्पतालमा आफू बुवाको प्रतीक्षामा रहेको ताराले सुनाइन् । उनका बुवा लहरी नागरी रोजगारीका सिलसिलामा भारत रहेकाले आउन सकेका छैनन् । राती घटना भएको खबर पाएपछि भारतबाट हिंडेका उनी अझै डोटी आइपुगेका छैनन् ।
वृद्ध बज्यै र नाबालक भाइबहिनीको जिम्मेवारी अहिले तिनै तारामाथि थोपरिएको छ । कमलाका ताराका साथै ३ महिने शिशु शंकर, ४ वर्षीया रुचिका, ६ वर्षका अबि र ८ वर्षका अभिषेक बेलाबेला आमा भन्दै अस्पतालमा रोइरहेका छन् । गाउँलेले बेलाबेला आएर सम्झाउने प्रयत्न गरे पनि मन भने पाँचै जनाको आत्तिएको छ ।
राती ९ बजे खाना खाएर सुत्ने तयारी गरिरहेका बेला घरभित्रै चट्याङ परेपछि आमाको मृत्यु भएको ताराले बताइन् । ताराले अस्पतालमा रुँदै भनिन, ‘एकाएक हुरीबतास चल्यो, ड्याम्म आवाज आयो । मम्मी ऐय्या भनेर ढलेपछि उठ्दै उठिनन् ।’
एक्लो कमाइले परिवार पाल्न गाह्रो भएपछि लहरी नागरी बुहारी कमलासहित लालाबाला लिएर भारतबाट फर्केका थिए । ३५ वर्षीय छोरा लहरीका पाँच छोराछोरी उतै जन्मेहुर्केका हुन् । एक्लैको कमाइले भारतमा पेट पाल्न नसक्ने भएपछि गत माघ महिनामा मात्रै श्रीमती र लालाबालालाई नेपाल ल्याएर छोडी लहरी पुनः भारत फर्केका थिए ।
सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले चट्यांगबाट मृत्यु भएको परिवारलाई काजकिरिया एवं राहतका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । ‘अहिले म जिल्लाबाहिर छु, फर्किनासाथ कार्यपालिकाको बैठकबाट उक्त निर्णय गराएर राहत रकम उपलब्ध गराउनेछु,’ उनले भने । उ
ता वडाध्यक्ष दीपक साउँदले अलपत्र परेका बालबालिकाको उपचार एवं स्याहारसम्भारका लागि सहयोग रहने प्रतिबद्धता जनाएका छन् । ‘उहाँहरू विपन्न परिवारकै हो, जीवन गुजाराका लागि भारत गएर रोजगारी गरिरहेका थिए,’ वडाध्यक्ष साउँदले भने, ‘जीवन गुजारा गर्न भारतमा समेत सकस भएपछि केही महिनाअघि घर आएकामा यस्तो दुःखद घटना भयो ।’
चट्याङमा परी भीम नागरीकी छोरी ६ वर्षीया खुसी नागरीसमेत घाइते भएकी छन् ।
