गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु

चैत्र २८, २०८१

अर्जुन शाह

Heart disease treatment service started at Geta Hospital

धनगढी — कैलालीको गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु गरिएको छ । मुटु रोग विशेषज्ञ (कन्सल्टेन्ट कार्डियोलोजिस्ट) डा. अजय भट्ट गेटा अस्पतालमा सरुवा भएर आएपछि सेवा सुरु गरिएको हो ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार यसअघि सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत रहेका डा. भट्टलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवामा गेटा अस्पताल पठाएको हो । डा. भट्टले मंगलबारदेखि ओपिडी सेवा सुरु गरेका हुन् । सूचना अधिकारी कार्कीका अनुसार मुटु रोग विशेषज्ञ आएपछि अहिले अस्पतालमा दैनिक दस जनासम्म मुटु रोगका बिरामी आउने गरेका छन् । 

डा. भट्टले गेटामा हाल मुटु रोग परीक्षणका लागि अत्याधुनिक इसिजी र इलेक्ट्रोकार्डियाग्राम (इको) मेसिन उपलब्ध रहेको बताए । ‘गंगालालमा प्रयोग तहको इको मेसिनले जाँच हुने गरेको छ,’ डा. भट्टले भने, ‘केही समयमै हल्टर, टीएमटीद्वारा परीक्षण सेवा पनि उपलब्ध गराउने तयारी छ ।’

गेटामा निकट भविष्यमै क्याथ ल्याब सेवा सञ्चालनको तयारी भइरहेको डा. भट्टको भनाइ छ । हाल सुदूरपश्चिममा क्याथ ल्याब सेवा उपलब्ध छैन । उक्त सेवा सञ्चालन हुन सके हृदयघात लगायत मुटुका संवेदनशील, गम्भीर तथा आकस्मिक बिरामीको उपचारमा महत्त्वपूर्ण योगदान पुग्ने चिकित्सकहरु बताउँछन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully