चट्याङ लागेर १३ भेडा मरे

हावाहुरीले धेरैजसो विद्यालय र घरमा क्षति

चैत्र २८, २०८१

मेनुका ढुंगाना

13 sheep died due to lightning

अछाम — रामारोशन गाउँपालिका—६ भाटाकाटियामा बुधबार राति चट्याङ लागेर १३ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार भाटाकाटियाको किर्किट्टेका लोकबहादुर साउदका १२ र सर्पबहादुर साउदको एक गरी १३ भेडाको मृत्यु भएको हो ।

लोकबहादुरका ९० र सर्पबहादुरका ८० भेडामध्येबाट ९ भेडा बेपत्ता भएको डीएसपी भण्डारीले बताए । भेडीगोठमा लगेको बेला चट्याङ परेको र बेपत्ता भएका भेडाको खोजी कार्य भइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार बुधबार रातिको चट्याङबाट साँफेबगर नगरपालिका —४ का गोरख थापाको घरमा विद्युत्‌‌को मिटर बक्स, राउटरमा क्षति भएको छ । 

त्यस्तै तुर्माखाँद गाउँपालिका —५ जाम्पानीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको २ कोठाको ढुंगा माटोले बनेको भवनको टिनको छाना उडाएको छ । त्यस्तै तुर्माखाँद —५ ढाङ्टाको अर्को सरस्वती निम्न माध्यमिक विद्यालयको ३ कोठे भवनको छानासमेत उडाएको छ । जस्ताको छानो पूरै हावाहुरीले उडाएकाले विद्यालयको सामानमा समेत क्षति भएको छ । 

चौरपाटी गाउँपालिका —५ लुंग्राका शंकर भुलको २ तले ४ कोठे घर पनि हावाहुरीले उडाएको छ । मेल्लेख गाउँपालिका — १ भट्टेखोलाका पाउने विकको २ तले ८ कोठे घर भवनको टिनको छाना उडाएर क्षति भएको प्रहरी प्रमुख डीएसपी भण्डारीले बताए । उनका अनुसार बुधबारदेखि सुरु भएको वर्षाका कारण चौपायाको मृत्यु र भौतिक क्षति भएपनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully