सुदूरपश्चिमको दुर्गममा समयमै पाठ्यपुस्तक
धनगढी — सुदूरपश्चिममा दुर्गम पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने विगतको समस्या आगामी शैक्षिक सत्रमा भने हट्ने भएको छ । जनक शिक्षा सामग्री केन्द्र प्रदेश कार्यालय धनगढीले आगामी शैक्षिक सत्रका लागि हिमाली र पहाडी जिल्लामा समयमै पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको जनाएको छ ।
सुदूरपश्चिममा बाजुरा, दार्चुला, बझाङ हिमाली जिल्लाअन्तर्गत पर्दछन् । बैतडी, अछाम, डोटी र डडेल्धुरा पहाडी जिल्लाअन्तर्गत पर्दछन् । यी जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याएर विद्यालयमा वितरण भइरहेको जनक शिक्षाको प्रदेश कार्यालय धनगढीले जनाएको छ ।
‘बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा आवश्यक सबै पाठ्यपुस्तक चैत १७ गते नै पठायौं,’ केन्द्रका प्रदेश प्रमुख रामविनय श्रेष्ठले भने, ‘डोटी र डडेलधुरामा सोमबार वितरण गरिरहेका छौं । तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि यसैसाताभित्र वितरण गरिसक्ने लक्ष्य छ ।’
हिमाली जिल्ला बाजुराका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको विक्रेताले जनाएका छन् । बुढीगंगा नगरपालिकाको बाह्रबिसस्थित सिर्जना स्टेसनरी एन्ड जनरल स्टोरका डम्बरबहादुर सिंहले आफूले जिम्मा लिएको २१ वटै विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसकेको बताए । ‘खप्तड छेडेदह गाउँपालिकाका जगवागेश्वरी र काँडाका १२ वटा विद्यालय र साविकको बाह्रबिसका ९ वटा विद्यालयमा पाठ्पुस्तक वितरण गरिसकेका छौं,’ सिंहले भने ।
बाजुराको बेतालमाडौंमा विक्रेताले धनगढीबाट ल्याएका पुस्तक । यसपालि समयमै विद्यार्थीका हातमा पुस्तक दिने तयारी छ । तस्बिर : कान्तिपुर
बाजुराकै बुढीनन्दा नगरपालिकामा जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक वितणको जिम्मेवारी लिएका रारा पुस्तक पसलका सञ्चालक सञ्जय रोकायाले अधिकांश विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसकेको र केहीमा वितरण भइरहेको बताए । सुदूरपश्चिमभर सूचीकृत भएका १ सय ९४ विक्रेताले जनक शिक्षाबाट पाठ्यपुस्तक बिक्री–वितरण गरिरहेका छन् ।
सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि १८ लाख ४५ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको प्रदेश कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार अनुमानित परिमाणमा पाठ्यपुस्तकको ब्यवस्था गरिएको छ । ‘आइतबारसम्म ६ लाख १९ हाजर ६५२ थान पाठ्यपुस्तक वितरण गरिसकको छौं,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।
यस प्रदेशमा सबैभन्दा धेरै पाठ्यपुस्तक कैलाली आवश्यक पर्ने जनक शिक्षाको अनुमान छ । कैलालीमा ५ लाख ५१ हजार थान पाठ्यपुस्तकको प्रबन्ध गरिएको प्रदेश कार्यालय प्रमुख रामविनय श्रेष्ठले बताए ।
यस्तै, कञ्चनपुरमा २ लाख ५८ हजार, बैतडीमा एक लाख ९८ हजार, अछाममा एक लाख ८१ हजार, बझाङमा एक लाख ७५ हजार, दार्चुलामा एक लाख १४ हजार, बाजुरामा एक लाख ३२ हजार र डडेलधुरामा ९८ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरेर पाठ्यपुस्तकको प्रबन्ध गरिएको बताए । ‘हालसम्मको जिल्लागत रुपमा पाठ्यपुस्तक विवरण गरिएको छ । विक्रेताले विद्यालयको विवरण लिएर किताब लैजाने गरेका छन्,’ उनले भने ।
