पुर्ख्यौली पेसामा रमाएका वसन्त

चैत्र २७, २०८१

मोहन पनेरु

Basanta reveled in the ancestral profession

दिपायल — युवाहरू रोजगारीको अवसर खोज्दै भारत तथा विदेश पलायन हुने क्रम तीब्र छ । पछिल्लो समय डोटीका गाउँ मानवविहीन बन्दै गएका छन् । गाउँमा बुढापाका र महिलामात्र भेटिन्छन् ।

केआईसिंह गाउँपालिका–४ बायलका वसन्त विक भने पुर्खाले अँगालेको पेसालाई निरन्तरता दिँदै गाउँमै रमाएका छन् । ‘बुवाबाजेले गरेको बाँस र निगलाका चोयाबाट बन्ने डोकोडालो, छापरो, सुप्पो, नाङ्ला, चाल्लोलगायतका सामान बनाएर परिवार पाल्दै छु’, वसन्तले भने, ‘अब यसैलाई केही फरकपन ल्याएर व्यापार विस्तार गर्ने योजनामा छु ।’

निगालोका सामान बनाएर अहिले मासिक ३५ हजार जति आम्दानी भइरहेको उनले बताए । वसन्तलाई सुरुमा रेडियोमा बोल्ने रहरले डोर्‍यायो । स्थानीय एफएममा उद्घोषणसम्बन्धी तालिम लिए पनि काम गर्ने अवसर पाउन सकेनन् ।

सँगैका साथीहरू विदेशतिर हिँडे पनि बिस्तारै उनलाई पुर्ख्यौली पेसाले आकर्षित गर्‍यो । गाउँनजिकै रहेको बायल बगड बजारमा जस्तापाताको छाना लगाएर दुईकोठे घर बनाए । अहिले उनले एक कोठामा डोको, डालो, छापरो, सुपो, चाल्लो बेच्ने र अर्को कोठामा इलेक्ट्रोनिक पसल थापेका छन् । ‘यो सीप १४/१५ वर्षकै उमेरमा परिवारमै सिकेको थिए,’ उनले भने,‘अहिले आएर काम लग्यो ।’

घरमै बसेर बनाएका ठूलो आकारको डोको ९ सय, सानो डोको ५ सय ५०, सुपो ८ सय ५०, नाङ्लो भने साइज अनुसार बिक्री गरिरहेको उनले सुनाए । गाउँलेहरूबाट निगालो किनेर उनले घरेलु प्रयोजनका वस्तु बनाउने गरेका छन् । एक भारी निगालो एक हजार रुपैयाँ किनेर पाँच वटा डोका बनाउन सकिने उनले बताए । ‘डोकोडालो बुनेर आउने पैसाले नै परिवारको खर्च चलेको छ,’ विकले भने, ‘आम्दानीको बाटो यहीग मात्रै हो ।’

एक दिन चोया तयार गर्न सके दिनमै दुई वटासम्म डोका बुन्ने सकिने उनले बताए । खर्च र मेहनत धेरै हुँदा यो पेसाबाट परिश्रमअनुसारको आम्दानी नहुने गरेको उनले सुनाए । ‘सबै चिज किनेरै खानुपर्छ । घरमा अरु उत्पादन छैन । खाद्यान्नकै मूल्य पनि हरेक दिन बढेको बढ्यै छ, डोकाडालाको भाउ भने कहिल्यै बढ्दैन ।’ उनले अहिले डोटीको मुख्य बजार पिपल्ला र तिखातरमा आफ्ना उत्पादन राखेर बिक्री गर्दै आएका छन् । बजारको धेरै समस्या नभए पनि मेहनतअनुसारको मूल्य पाउन नसकेको उनको गुनासो छ ।

मोहन

Link copied successfully