धनगढी — सिँचाइ अभावले उजाड गह्रा कान्लाहरु अहिले हराभरा छन् । सिँचाइको व्यवस्थापन भएपछि बाजुराको बुढीगंगा नगरपालिका– ४ बानेगाउँ अहिले हराभरा मात्रै भएको छैन, स्थानीय महिलाहरु कृषक समूह गठन गरेर व्यवसायिक कृषि उत्पादनमा व्यस्त छन् ।
खानेपानीकै पनि समस्या रहेको बानेगाउँमा झण्डै डेढ किलोमिटरको दूरीमा पर्ने बार्जुगाड खोलाबाट लिफ्टमार्फत पानी ल्याइएको छ । बानेगाउँका ४७ परिवारले मिटर जडान गरेर सिँचाइ गरिरहेको लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष कलक कटुवालले बताए ।
‘खडेरीले उजाड हुन थालेका खेतबारी अहिले त्यही लिफ्टको पानीले सिँचाइ हुँदा हराभरा भएका छन्,’ उपभोक्ता समितिका अध्यक्ष कटुवालले भने, ‘घरघरमा कृषि मिटर जडान गरेर सिँचाइका लागि पानी वितरण गर्ने गरिएको छ ।’
प्रतियुनिट पानी उपभोग गरेवाफत ४० रुपैयाँ शुल्क लगाउने गरेको उनले बताए । एक युनिटमा एक हजार लिटर पानी दिने गरिएको छ । ‘व्यवसायिक तरकारी खेती किसानीमा लागेकाहरुले मासिक ३० युनिटसम्म पानी प्रयोग गर्ने गरेका छन्,’ उपभोक्ता समितिका अध्यक्ष कटुवालले भने । बार्जुगाढबाट ल्याएको पानी गाउँमाथि बनाइएको ६० हजार लिटर क्षमताको सिँचाइ ट्यांकीमा जम्मा गरिन्छ ।
त्यही ट्यांकीबाट किसानलाई वितरण गर्ने गरिएको छ । सिँचाइ सुविधा भएपछि बानेगाउँका अधिकांश महिलाहरु व्यवसायिक तरकारी खेतीतर्फ लागेको हरियाली कृषक समूहकी अध्यक्ष सकुन्तलादेवी कटुवालले बताइन् ।
‘घरघरमा तरकारी खेती गरेर बिक्री गर्ने लहर चलेको छ,’ सकुन्तलाले भनिन्, ‘यस्तो सुविधा होला भन्ने त सोचेकै थिएनौं ।’ कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा परियोजना र बुढीगंगा नगरपालिकाको साझेदारीमा त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाका दुर्गम गाउँमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएका छन् ।
परियोजनाको ६५ लाख ८६ हजार (९० प्रतिशत) र नगरपालिकाको सात लाख ३१ हजार (१० प्रतिशत) गरी ७३ लाख १८ हजारको लागतमा बानेगाउँमा सिँचाइ योजना पूरा गरिएको हो । यस्तै त्रिवेणी ८ झालगाउँमा सोही परियोजनाको ४९ लाख ३७ हजार र वेबेणी नगरपालिकाको ५ लाख ४८ हजार गरी जम्मा ५४ लाख ८८ हजारको लगातमा कालापानी लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको परियोजनाले जनाएको छ ।
झालगाउँमा सिँचाइ सुविधा पुगेपछि बेमौसमी तरकारी बेचेर मासिक २५ हजारसम्म आम्दानी गर्ने गरेको स्थानीय सिता थापाले बताइन् । ‘मासिक २० हजारदेखि वार्षिक दुई लाखसम्मको तरकारी बिक्री गरेर आम्दानी हुने गरेको छ,’ उनले भनिन् । बारीमा विभिन्न किसिमको साग, जुकेनी र टमाटर, काँक्रालगायत तराकारी रहेको उनको भनाइ छ ।
नर्वे सरकारको आर्थिक सहयोगमा युएनडिपीको कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाअन्तर्गत लिफ्ट सिँचाइ र लघु जलविद्युत् आयोजना स्तरोन्नतिका लागि साझेदार संस्थाहरु वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, इसिमोड, लिबर्ड र डब्लुएफपीमार्फत काम गरिरहेको छ ।
मुगुको खत्याडसहित बाजुराका १६ वटा लघु जलविद्युत् आयोजनाहरुको स्तरोन्नतिका लागि कार्य गरिरहेको रेरास परियोजना बाजुरा कलस्टरका प्रमुख विशाल पौडेलले बताए ।
