धनगढी — सत्ता पक्ष र प्रतिपक्षीबीचको उल्झन नसल्टिएपछि सुदूरपश्चिम प्रदेश सरकारले सोमबार रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्यको निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत साउन २७ गतेदेखि प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भएको थियो । तर पछिल्लो समयमा प्रतिपक्षी दलहरुले सरकारले खर्च बढाउने प्रकृतिका विभिन्न नियूक्ति लगायतका कार्यहरु गरेको भन्दै प्रतिपक्षी दलहरुले लगातार प्रदेश सभामा बैठक अवरोध गरेपछि बैठक सञ्चालन हुन सकेको थिएन ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।
