अछामको जयगढ बजारमा भीषण आगलागी

चैत्र २६, २०८१

मेनुका ढुंगाना

Fierce fire in Jaigarh market of Achham

अछाम — अछामको जयगढ बजारमा ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमम मंगलबार साँझ एक पसलबाट आगलागी सुरु भएको थियो । 

जयगढको पुरानो बजारको धेरै घरहरु जलेर नष्ट भएको र आगलागी अझै नियन्त्रणमा नआइसकेको प्रत्यक्षदर्शी रितिक स्वारले बताए । बजारको मुख्य केन्द्रमा आगो फैलिएकाले स्थानीयमा बढी त्रास पैदा भएको उनले बताए । ‘मंगलसेन नगरपालिकाको दमकल आगलागी भएको ठाउँमा आइपुगेको छ । तर आगो झन् धेरै फैलिरहेको छ । घरहरु धेरै जलेका छन् । क्षति पनि धेरै भइसकेको छ ।’ 

मंगलबार बेलुका ७ बजेतिर सल्किएको आगो नियन्त्रण नभइसकेको अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । ‘बजार जाने बाटो साँघुरो भएकाले दमकलले पनि आगो नियन्त्रणमा ल्याउन सकेको छैन । नियन्त्रणका लागि सबै प्रयासहरु गरिरहेका छौं ।’ 

बजारभित्रका करिब ८ घर पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।  उनका अनुसार एक घण्टा बढी समयसम्म आगलागी नियन्त्रण नभएपछि स्थानीय तहसँग आक्राशित भएका युवाहरुले बान्नीगढी जयगढ गाउपाँलिकाका अध्यक्ष टेकहादुर साउद र उनको परिवारमाथि आक्रमण गरेका छन् । ‘गाउँपालिका अध्यक्षको परिवारका सदस्यमाथि आक्रमण गरेको पनि खबर आएको छ । एकातिर आगो नियन्त्रणमा लिनु पर्ने र अर्कोतिर आक्रोशित युवाहरुलाई नियन्त्रणमा लिनु पर्ने चेपुवामा प्रहरी परेको छ । ’ उनले भने । 

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully