बेलौरीको बाघलाई नियन्त्रणमा लिएर वन कार्यालय लगिँदै

चैत्र १७, २०८१

भवानी भट्ट

The Belauri tiger was taken under control and taken to the forest office

कञ्चनपुर —  कञ्चनपुरको बेलौरी नगरपालिका-२ टेडुवामा गहुँबारीमा देखिएको बाघ नियन्त्रणमा लिइएको छ । दुई दिनदेखिको प्रयासपछि आइतबार डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइएको हो । 

‘दुई दिनदेखि निरन्तर प्रयास गर्दा नियन्त्रणमा लिन सफल भइयो,’ सबडिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवले भने, ‘बाघ नियनत्रणमा नआउँदा स्थानीय निकै त्रसित थिए ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज  र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएका हुन् । बाघलाई नियन्त्रणमा लिनका लागि निकुञ्जबाट दुई वटा हात्तीसमेत परिचालन गरिएको थियो । 

नियन्त्रणमा अएको बाघ वयस्क भाले भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. आभाश श्रेष्ठले बताए । तरको बाघको अवस्था कस्तो छ भन्ने विषयमा अहिले नै धेरै बुझ्न नसकिएको उनले बताए ।

अहिले बाघलाई डिभिजन वन कार्यालय लैजाने तयारी भएको उनले बताए । दुई वर्षअघि बेलौरी नगरपालिकामै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । उक्त बाघ पनि नियन्त्रणमा लिएर काठमाण्डौं चिडियाखानामा राखिएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully