कञ्चनपुर — बेलौरी नगरपालिका–२ टेडुवास्थित गहुँबारीमा शनिबार बिहानै बयस्क बाघ देखिँदा स्थानीय त्रसित भए । बाघलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र वन कर्मचारीसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमको टोली परिचालन भयो । शनिबार दिनभरको प्रयासले बाघलाई डार्ट गर्न सकिएन ।
आइतबार निकुञ्जका दुई हात्ती परिचालन गरेर दिउँसो बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन सफलता मिल्यो । दुई दिनदेखि गुहँबारीमै रहेको बाघ नियन्त्रणमा लिएर आइतबार अबेर साँझ फलामको खोरमा राखेर महेन्द्रनगरस्थित डिभिजन वन कार्यालयमा पुर्याइएको छ । त्यतिबेलासम्म बाघलाई कहाँ राख्ने निर्णय भइसकेको थिएन । ‘हामीकहाँ उद्धार केन्द्र नहुँदा नियन्त्रणमा लिएका वा उद्धार गरिएका वन्यजन्तु राख्न समस्या भएको छ,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरले भने, ‘राति वन कार्यालयमै राख्छौं, सबैसँग छलफलपछि आवश्यक पहल गरिनेछ ।’
एकातिर उद्धार केन्द्र अभाव र अर्कोतिर समयमै आवश्यक पहल नहुँदा उद्धार गरिएको वन्यजन्तुको व्यवस्थापनमा समस्या भइरहेको छ । सुदूरपश्चिममा हरेक दुई/तीन महिनामा एक/दुई चितुवाको उद्धार गर्नुपर्ने अवस्था आइरहेको छ । तीन वर्षयता हरेक वर्ष बाघलाई नियन्त्रणमा लिइएको छ । तर उद्धार केन्द्रकै अभावमा तिनलाई कहाँ पठाउने भन्ने अन्यौल हुन्छ । गत साउनमा दोधारा चाँदनी नगरपालिकामा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भयो । दुई दिन लगाएर नियन्त्रणमा लिएको उक्त बाघलाई बर्दियास्थित उद्धार केन्द्रमा पठाइएयो । दुई वर्षअघि बेलौरी नगरपालिकामै महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखाना पठाइएको थियो । ‘उद्धार केन्द्र नभएकै कारण वन्यजन्तु राख्न समस्या भइरहेको छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘वन्यजन्तु उद्धारसँगै व्यवस्थापनमा चुनौती छ ।’
आइतबार नियन्त्रणमा लिइएको बयस्क भाले बाघको शरीरमा घाउचोट केही छैन । केही दिनदेखि भोको भएका कारण कमजोर देखिएको निकुञ्जका पशु चिकित्क डा. आभाश श्रेष्ठले बताए । उनका अनुसार आफ्नो क्षेत्रमा पराजित भएर वा आहारा खोज्न नसकेर बाहिर निस्केको हुन सक्छ । अब उक्त बाघ राख्ने ठाउँको व्यवस्थापन नहुँदासम्म फलामको पिजडामै राखेर आहारा दिइनेछ ।
यसरी नियन्त्रणमा लिइएका वा उद्धार गरिएको वन्यजन्तु राख्न शुक्लाफाँटा निकुञ्जमा उद्धार केन्द्र निर्माणाधीन अवस्थामा छ । तर भौतिक पूर्वाधार निर्माण भएर मात्रै वन्यजन्तु राख्न नसकिने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशी बताउँछन् । ‘वन्यजन्तु राखेपछि रेखदेख र आहारा व्यवस्थापनका लागि ठूलो खर्च चाहिन्छ,’ जोशीले भने, ‘रेखदेखका लागि चिकित्सकदेखि विभिन्न खालको जनशक्ति पनि चाहिन्छ ।’ उनले सुदूरपश्चिममा अहिले बाघ र चितुवाका लागि उद्धार केन्द्र आवश्यक भएको बताए । सुदूरपश्चिमका नौ वटै जिल्लाका बस्तीमा आएका र पासोमा परेका चितुवा तथा बाघको राष्ट्रिय प्रकृति संरक्षण कोषकै टोलीले उद्धार गरिरहेको छ ।
