एकै पटक एक हजार युवालाई सीपमूलक तालिम

चैत्र १६, २०८१

अर्जुन शाह

Skill training to 1000 youth at a time

धनगढी — प्रदेश स्वरोजगार कोषलगायतका विभिन्न सरकारी-गैरसकारी संस्थाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले आठ विधा अन्तर्गत २९ वटा सहायक विधामा सीपमूलक तालिम दिएको छ।

उपमहानगरपालिकाले रोजगार मेला आयोजना गर्दै एकैपटक एक हजारभन्दा धेरै युवाहरूलाई एकसाथ सीपमूलक तालिम दिएको हो। फागुन पहिलो सातादेखि चैत १५ गते संचालित पुरोहित तालिमदेखि डिजिटल मार्केटिङसम्मका तालिममा सुदूरपश्चिमका ३९ स्थानीय तहका ५३९ महिला र ५०१ पुरुष गरी १ हजार ४० युवा सहभागी भएको धनगढी उपमहानगरका रोजगार संयोजक चन्द्रबहादुर महराले बताए। उनका अनुसार धनगढीको खुलामञ्चमा आठ मुख्य विधाका २९ उपविधामा तालिम सञ्चालन गरिएको हो ।

आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधा अन्तर्गत फेसन डिजाइनिङ तालिम अन्तर्गत फेसन डिजाइनिङ, एडभान्स टेलरिङ, सांस्कृतिक पोषाक निर्माण, बेतबाँस क्राफ्ट/हस्तकलाका सामग्री निर्माणको तालिम सञ्चालन गरिएको छ । ‘सीप सिकेर स्वरोजगार बन्ने धोको हो । अहिले तालिम पाएँ,’ बेतबाँसका सामग्री निर्माणको तालिम लिएकी अछाम साँफेबगरकी लक्ष्मी चन्द शाहले भनिन्, ‘तालिमबाट बेतबासका मुढा, टोकरी, फुलदानी, जुत्ताचप्पल राख्ने र्‍याक, हृयांगरलगायत सामग्री निर्माण गर्ने सीप सिकेकी छु ।’

अटोमोबाइल विधा अन्तर्गत इलेक्ट्रिक कार, मोटरसाइकल मर्मत तालिम सञ्चालन भएका छन् । कैलालीको भजनी–७ का २७ वर्षीय सुन्दर कठरियाले इलेक्ट्रोनिक कार मर्मत तालिम लिएका छन् । उनले इभि गाडी प्रयोगको जमाना भएकोले उत्त तालिम रोजेको बताए । ‘अहिलेको तालिम बेसिक भयो, एडभान्स तालिम पाउन पाए राम्रो हुन्थ्यो,’ कठरियाले भने ‘एडभान्स तालिम लिएर स्वदेशमै ग्यारेज खोल्ने विचार छ ।’

निर्माण तालिम विधा अन्तर्गत टायल मार्बल फिक्स्चर, डकर्मी, फर्निचर, विल्डिङ र प्लम्बिङ तालिम सञ्चालन भएका छन् । बीबीएस अध्ययन गर्दै गरेका कञ्चनपुरको कृष्णपुरका २५ वर्षीय शंकर धामीले प्लम्बिङ तालिम लिए । ‘पढाईसँगै सीप पनि भए भविष्यमा आफै गर्न सकिन्छ भनेर तालिम लिएको हुँ,’ उनले भने ‘सहरबजारमा स्कोप पनि राम्रै छ ।’

आतिथि सत्कार विधा अन्तर्गत कफी बारिस्ता, फास्टफुड/कुक, वेटर, रिसेप्सनिष्ट/फ्रन्ट डेस्क तालिम सञ्चालन गरिएको छ । यस्तै, इलेक्ट्रिकल र मेकानिकल विधा अन्तर्गत वेल्डिङ, रेफ्रिजरेशन र एसी, मोबाइल, सिसिटिभी, बिल्डिङ ईलेक्ट्रिकल वाइरिङ रहेका छन् । प्लस टु पढ्दै गरेका बझाङ बुगल–८ कपल्सेरीका सुवास बोहराले बिल्डिङ वाइरिङ तालिम लिएका छन् । ‘वैदेशिक रोजगारीका लागि कोरियन भाषा सिक्दै गरेको अवस्थामा यहाँ तालिम हुन लागेको थाहा पाएँ । पहाडतिर बिल्डिङ वायरिङको राम्रो स्कोप छ । त्यसैले आवेदन दिएको थिएँ । नाम निस्कियो,’ उनले भने ‘पहाडतिर पनि यस्तै तालिम सञ्चालन हुन पाए त हुन्थ्यो।’

धनगढी–१२ जुगेडाका सुरत बोगटी पनि तालिम लिन पाएकोमा निकै खुसी देखिन्थे । पाँच वर्ष भारतुमा मजदुरी गरेर घर फर्किएका थिए । वाइरिङमा रुची भएका बोगटीले तालिम खुलेको जानकारी पाए । ‘वाइरिङको तालिमको खोजीमा थिएँ, ठ्याक्कै तालिम पनि खुलेको रहेछ,’ उनले भने, ‘घरमा वाइरिङ गर्न सक्ने भएको छु । अब भारत जाने विचार छैन ।’

सूचना प्रविधि विधामा डिजिटल मार्केटिङ, हार्डवेयर/नेटवर्किङ, ग्राफिक डिजाइनर र अटोक्याड तालिम सञ्चालन भएका थिए । धनगढीकी विपना जोशीले ग्राफिक डिजाइनिङको तालिम लिइन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरिरहेकी जोशीले ग्राफिक डिजाइनिङको स्कोप देखेर त्यो विधा रोजेको बताइन् । ‘सैद्धान्तिक ज्ञान मात्रले केही नहुने, त्यही भएर सीपमूलक तालिममा सहभागी भएकी हुँ,’ विपनाले भनिन् ‘एक महिनाको तालिमले आधारभूत ज्ञान मात्र प्राप्त गर्न सकियो । अब उपल्लो तहको तालिम लिएर स्वरोजगार बन्ने आकांक्षा हो ।’

शैक्षिक विधा अन्तर्गत ईसीडी शिक्षक तालिम, पुरोहित र लेखा व्यवस्थापन तालिम सञ्चालन भए । धनगढीकी भगवती चापागाई शिक्षाशास्त्र संकायमा स्नात्तकोत्तर हुन् । सीप तथा रोजगार मेलामा उनले ईसीडी शिक्षक तालिम लिइन् । ‘मेरो शैक्षिक पृष्ठभूमि पनि शिक्षा शास्त्र भएकोले मन्टेश्वरी शिक्षकमा रुची भएर त्यही तालिम रोजेकी हुँ,’ भगतीले भनिन् ‘शैक्षिक योग्यताका प्रमाणपत्र भए पनि उचित तालिम पाइएको थिएन । यस तालिमले निकै आत्मविश्वास दियो । अगाडि बढ्न हौसला प्राप्त भएको छ ।’ यस्तै, स्वास्थ्य तथा सौन्दर्य तालिम विधा अन्तर्गत एडभान्स ब्यूटिसियन, हेयर कटिङ/स्टाइलिङ र नाई तालिम सञ्चालन गरिएको छ ।

आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तरगत फेसन डिजाइनिङ तालिममा सबैभन्दा धेरै आकर्षण देखिएको आयोजकले जनाएको छ । उक्त तालिमका लागि ५० जना माग गरिएकोमा सबैभन्दा बढी ६ सय ३० जनाको आवेदन परेको थियो । त्यस्तै सौन्दर्य अन्तरगत एडभान्स ब्युटिसियनका लागि पनि ५० जना माग गरिएकोमा ५ सय ८७ को आवेदन परेको थियो । शैक्षिक क्षेत्र अन्तरगत लेखा व्यवस्थापनमा ५० को कोटामा ४ सय ६३ र एडभान्स टेलरिङमा २५ को कोटामा ४ सय १६ जनाको आवेदन परेको थियो ।

अतिथि सत्कार क्षेत्र अन्तर्गत कफी बारिस्ताका लागि २५ मा ३ सय ७५, सांस्कृतिक पोषाक निर्माणमा ७२ जना मागिएकोमा २ सय २०, शैक्षिक क्षेत्र अन्तरगत ५० जना इसिडी शिक्षक तालिमको कोटा राखिएकोमा २ सय १८, अटोमोबाइल्सतर्फ विद्युतीय कार मर्मतमा २५ जनाको कोटा तोकिएकोमा १ सय २४, सौन्दर्य क्षेत्र अन्तरगत हेयर कटिङ स्टाइलिङमा ५० जना माग गरिएकोमा १ सय १७, मोटरसाइकल र स्कुटर मर्मत तालिमका लागि २५ जनाको कोटा तोकिएकोमा ८६ जनाले आवेदन दिएका थिए । त्यस्तै निर्माण क्षेत्र अन्तर्गत डकर्मी तालिममा ५० जना माग गरिएकोमा ५६ जना आवेदक परेका थिए । फर्निचर, विल्डिङ पेन्टर र प्लम्बिङमा समान २५/२५ जनाको लागि आवेदन खुलाइएकोमा फर्निचरलागि २६ जना, प्लम्बिङमा ३७ जनाले आवेदन दिएका थिए ।

केही तालिममा भने कोटा भन्दा कम संख्यामा आवेदन परेको थियो । टायल तथा मार्बल फिक्स्चरमा ५० जनाको कोटा रहेकोमा ३४, भने विल्डिङ पेन्टरमा भने २० जनाले मात्रै आवेदन दिएका थिए । वेटरका लागि भने ३१, विल्डिङ पेन्टरमा २० जना सहभागी भए ।

डिजिटल मार्केटिङकी प्रशिक्षक रेखा चौधरीले तालिममा ८ जना महिला र १७ पुरुष २५ जना सहभागी रहेको बताइन् । ‘डिजिटल मार्केटिङको अहिलेको जमानामा प्रशिक्षार्थीहरुको पनि निकै आकर्षण देखियो,’ चौधरीले भनिन् ‘डोटी, अछामलगायत जिल्लाबाट तालिममा सहभागी भएका थिए ।’ टायल मार्बल तालिमका प्रशिक्षक गंगादत्त भट्टले उक्त तालिममा ५ महिला, ४२ पुरुष गरी ४७ जना सहभागी रहेको बताए । ‘टायल मार्बलमा काम गर्ने योग्य मिस्त्रीले महिनामा ५० हजारसम्म सहजै कमाउन सक्ने अवस्था छ,’ उनले भने ।

सीप तथा रोजगार मेलामा सहभागीले एक महिनाको तालिम लिएपछि बिहीबार र शुक्रबार रोजगार मेला पनि सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्ति बीच समन्वय गराई रोजगारीमा जोडिने अवसर दिने उपममहानगरको भनाई छ ।

४ हजार ७२२ जनाले आवेदन दिएकोमा १ हजार ४० जना छनोट भएर तालिम दिइएको उक्त सीप तथा रोजगार मेलामा आठ विधाका तालिमका लागि ९२ जना प्रशिक्षक रहेका थिए । प्रशिक्षकहरू कैलाली, काठमाडौं, बाँके, बर्दिया, कञ्चनपुर, बैतडी, डोटी, सुर्खेत, नुवाकोट, धादिङ, भक्तपुर, सिन्धुपाल्चोकलगायतका स्थानबाट आएका थिए ।

डिजिटल मार्केटिङकी प्रशिक्षक रेखा चौधरीले तालिममा आठ जना महिला र १७ पुरुष २५ जना सहभागी रहेको बताइन् । ‘डिजिटल मार्केटिङको अहिलेको जमानामा प्रशिक्षार्थीहरुको पनि निकै आकर्षण देखियो,’ चौधरीले भनिन् ‘डोटी, अछामलगायतका जिल्लाबाट तालिममा सहभागी भएका थिए ।’ टायल मार्बल तालिमका प्रशिक्षक गंगादत्त भट्टले उक्त तालिममा ५ जना महिला, पुरुष ४२ जना गरि ४७ जना सहभागी रहेको बताए । ‘टायल मार्बलमा काम गर्ने योग्य मिस्त्रीले महिनामा ५० हजारसम्म सहजै कमाउन सक्ने अवस्था छ,’ उनले भने ।

धनगढी उपमहानगरका मेयर गोपाल हमालले युवालाई सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउन सीप तथा रोजगार मेला सञ्चालन गरिएको बताए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully