बैतडीको पुर्चौंडी क्याम्पसमा नेविसंघकी उत्तरा विजयी

चैत्र ७, २०८१

मनोज बडू

Uttara of the Navy won at the Purchaundi campus in Baitadi

दार्चुला — बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघकी उत्तरा महरा विजयी भएकी छन् । 

नेविसंघकी महराले अनेरास्ववियुका विष्णुदत्त अवस्थीलाई १६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । निर्वाचन अधिकृत नवराज जोशीका अनुसार उत्तराका निकतम प्रतिद्वन्द्वी अवस्थीले १०३ मत पाएका थिए । 

सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी ११७ मत ल्याउँदै विजयी भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउद १०५ मत प्राप्त गर्दै निर्वाचित भइन् । 

सदस्यहरुमा नेविसंघका अस्मिता बिष्ट, अस्मिता धनुषे, डम्मरबहादुर ऐर, केशव साउद, र अनेरास्ववियुकी सरीता बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए ।

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले एक सय १७, नेविसंघले एक सय १४ र अखिल क्रान्तिकारीले ९१ मत प्राप्त गरे । पाँच सय ५७ जना विद्यार्थी मतदाता रहेको क्याम्पसमा तीन सय ३० जनाले मतदान गरेका थिए । 

प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully