दार्चुला — जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ५ वटै क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन वटा विद्यार्थीहरु संगठनबीच भागबन्डा गर्ने सहमति भएअनुसार नेतृत्व चयन भएको छ ।
यसअघि जिल्लाका ५ वटै क्याम्पसहरुमा सहमतिमै उम्मेदवारी दर्ता भएको र सोहीअनुसार मंगलबार समिति चयन भएको क्याम्पसहरुले जनाएका छन् ।
जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच क्याम्पसमध्ये नेविसंघ र अनेरास्ववियुले दुई/दुई र अखिल क्रान्तिकारीले एक क्याम्पसमा स्ववियुको नेतृत्व गर्ने भएका छन् । जसअनुसार ब्यास गाउँपालिकामा रहेको अपीनाम्पा क्याम्पस हुतीमा नेविसंघका शेखर बम स्ववियु अध्यक्ष चुनिएका छन् । राष्ट्रिय क्याम्पस दत्तुमा नेविसंघकी लिलु भट्ट स्ववियु अध्यक्ष चुनिएकी क्याम्पस प्रमुख जानकी कार्कीले जानकारी दिइन् ।
त्यस्तै लटिनाथ क्याम्पस मार्मामा अनेरास्ववियुका रुकेश विष्ट र कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल स्ववियु अध्यक्ष चुनिएका छन् । समितिको पदाधिकारी र सदस्यहरुमा तीनवटै संगठनलाई समेटिएर समिति चुनिएको क्याम्पसहरुले जनाएको छ ।
त्यसैगरी अखिल क्रान्तिकारीले शंकरपुर क्याम्पस पस्तीमा स्ववियु अध्यक्ष चुनिएका छन् । अध्यक्षसँगै स्ववियुको पूर्ण समितिमा सबै संगठनहरुलाई समेटेर समिति गठन गर्ने सहमति भएअनुसार उम्मेदवारी दर्ता भएको र सोहीअनुसार मंगलबार स्ववियुको पूर्ण समिति चयन भएको नेविसंघ दार्चुलाका कार्यवाहक सभापति दिपक खातीले बताए ।
