गिट्टी–बालुवा चालेरै गुजारा

फाल्गुन २९, २०८१

भवानी भट्ट

Live by moving sand and gravel

कञ्चनपुर — चन्द्रबहादुर सुनारको घर महाकाली नदीछेउमै छ । उमेरले उनी ५० वर्षका भए । भीमदत्त नगरपालिका–११ भुजेला बस्ने उनको दैनिकी महाकालीकै बगरबाट सुरु हुन्छ । बिहानै बगरमा पुगेर उनी गिट्टी–बालुवा चाल्ने काममा जुट्छन् । दिनभरि बगरमा काम गरेर साँझ मात्रै घर फर्किन्छन् ।

‘सानैदेखि बगरमा यही काम गरिरहेको छु, अहिले पनि यही कामले पेट पालेको छु,’ फागुन अन्तिमको चर्को घाममा महाकालीको बगरमा गिट्टी–बालुवा चाल्दै गरेका उनले भने, ‘अब त बानी परिसक्यो, बगरमा नआए चित्तै बुझ्दैन ।’ आफूले १५/१६ वर्षको उमेरदेखि बगरमा यही काम गरिरहेको उनले सुनाए ।

त्यतिबेला यहाँ गिट्टी–बालुवा चाल्ने कामका लागि भारतीय नागरिक आउँथे । सुनार पनि उनीहरूसँगै दैनिक ज्यालादारीमा काम गर्थे । बिस्तारै आफैंले काम गर्न थाले । अहिले त्यसैबाट घरखर्च कटाएर एउटा सिजनमा ५०/६० हजार बचत गरिरहेका छन् । अहिले महाकालीको बगरमा गिट्टी–बालुवा छान्नेमा उनीजस्तै धेरै नेपाली छन् ।

सुनारले आफूसँगै काम गर्न एक जना भारतीय नागरिकलाई दैनिक ज्यालादारीमा राखेका छन् । दुई जनाले मिलेर दुई दिनमा एक/एक ट्रली गिट्टी र बालुवा छान्न सक्छन् । गिट्टी २ देखि अढाइ हजार र बालुवा एकदेखि डेढ हजारमा बिक्री हुन्छ ।

महाकालीमा कात्तिकदेखि जेठ मसान्तसम्म निर्माण सामग्री उत्पादनको काम हुन्छ । यो अवधिमा कतिपय बगरमा छाप्रो बनाएर बस्ने गरेका छन् । हजारौंको संख्यामा कामदार बगरमा काम गरिरहेका हुन्छन् । नजिक घर भएकाहरू बिहान खाना खाएर र दिउँसोको खाजा बोकेर जान्छन् । साँझ घर फर्किन्छन् ।

महाकाली नदीमा ब्रह्मदेवदेखि पिपरैयासम्म ठाउँठाउँमा उत्खननको काम भइरहेको छ । यहाँ गिट्टी–बालुवा छान्ने काममा नदी किनारका सँगै अन्य क्षेत्रबाट समेत आएका हुन्छन् । टाढाबाट आएकाहरूले बगरमा बसोबासका लागि छाप्रो बनाउने गरेका छन् ।

‘दिनभरि काम गरेपछि ज्याला निस्किन्छ,’ भीमदत्त नगरपालिका–११ भुजेलाकी शारदा नाथले भनिन्, ‘खेतीपातीका बेला घरमै काम हुन्छ, अरु बेला बगरमै काम गरेर गुजारा गरिरहेका छौं ।’ उनी छिमेकी कविता नाथसँग मिलेर काम गरिरहेकी छन् । दुवैले यसैबाट घरपरिवारको खर्च चलाएका छन् ।

‘अब गहुँ काट्ने बेला हुन लाग्यो, त्यतिबेला घरमै काम हुन्छ,’ शारदाले भनिन्, ‘त्यसपछि वैशाख–जेठमा गर्मी पनि धेरै हुन्छ, बगरमा काम गर्नै सकिन्न ।’ उनको ४ जनाको परिवार छ । बगरकै कामबाट उनले परिवारको खर्च चलाएकी छन् ।

महाकाली नदीको बगरमा निर्माण सामग्री उत्खननमा हजारौंको संख्यामा नेपाली काम गर्छन् । ठाउँ ठाउँमा जाली ठड्याइएका छन् । कुटो–कोदालोले खनेर मिस्कट जालीमाथि खन्याउँछन् । एकातिर गिट्टी जान्छ भने जालीबाट छानिएर बालुवा छुट्टिन्छ । त्यही छानिएको गिट्टी र बालुवा निर्माण काममा प्रयोग हुन्छ ।

यसरी बगरमा काम गरेर दैनिक गुजारा चलाउने मजदुरबारे कमैको चासो छ । संघ, प्रदेश र स्थानीय तह कहीँ पनि उनीहरूको आवाज पुग्दैन । यतिसम्म कि दैनिक बगरमा गिट्टी–बालुवा चालेर जीविका चलाउनेको तथ्यांकसमेत स्थानीय सरकारले संकलन गर्न सकेको छैन । बगरमा जोखिमपूर्ण काम गरिरहेका उनीहरूका लागि सुरक्षाका कुनै उपायसमेत अपनाइएको पाइँदैन ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully