बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

फाल्गुन २१, २०८१

मनोज बडू

One person arrested with loaded gun in Baitadi

दार्चुला — बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका-८ चौरथली कालागाउँका ५१ वर्षीय पाल विष्टलाई मंगलबार उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रहरीले  विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले विष्टलाई पक्राउ गरिएको छ ।


मंगलबार घरबाटै पक्राउ परेका विष्टले इजाजतबिना नै घरमा बन्दुक राखेर सिकार गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको बैतडी प्रहरीका प्रवक्ता बलदेव बडूले बताए । 


प्रवक्ता बडूका अनुसार विष्टको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउन्ड गोली, दुई थान घोरलको छाला र दुई थान रतुवाको छाला बरामद गरिएको छ । विष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully