लकडाउनमा फुरेको आइडियाले बनायो उद्यमी

महिनामा १२/१५ दिन काम गरेर पनि २५/३० हजारसम्म आम्दानी गर्दै विद्यार्थी

फाल्गुन १८, २०८१

भवानी भट्ट

The idea that flourished in the lockdown made an entrepreneur

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–३ का गजेन्द्र भट्ट बुटवलमा इलेक्ट्रिकल ओभरसियर अध्ययन गरिररहेका थिए । कोरोना संक्रमणका कारण देशभर लकडाउन सुरु भएपछि उनी घर फर्किए । विद्युतीय सामान मर्मतमा रुचि राख्ने उनले लकडाउनमा गाउँभरिबाट बिग्रेका एलईडी बल्ब (चिम) र टर्चलगायत संकलन गरेर आफैंले मर्मत गरे । कतिपय बेला त बिग्रेका चिम किनेर पनि बनाउँथे ।

लकडाउनकै बेला उनले युट्युबबाट एलईडी बल्ब बनाउने तरिका पनि सिके । त्यसपछि उनले भारत र चीनबाट आवश्यक सामग्री ल्याएर बल्ब बनाउन थाले । ३५ हजार लगानीबाट सुरु गरेको व्यवसायले अहिले उनले महिनामा एक लाख हाराहारी कमाइरहेका छन् ।

उनले अचेल विभिन्न प्रकारका बल्ब उत्पादन गरेर स्थानीय बजारमा मात्रै नभई महेन्द्रनगर, धनगढी, बुटवल र काठमाडौंसम्म पठाउँछन् । आफ्नो उत्पादन सुदूरपश्चिमका सबै पहाडी जिल्लामा खपत भइरहेको भट्ट बताउँछन् । दिनमा ५ सय जति बल्ब बनाउने गरेको उनले बताए । ‘अहिले बल्ब बनाउने र प्रचारप्रसारमै छौं, बजार पनि विस्तार हुँदैछ,’ भट्टले भने, ‘सानैदेखि यस्तै काममा रुचि थियो, त्यही भएर पढाइ पनि यही विषयमा गरे, लकडाउनका बेला सिकेर काम पनि सुरु गरेँ ।’ उनले जीबी आइडियल ग्रुप नामक उद्योग खोलेर यो काम गरिरहेका छन् । यो व्यवसायमा उनले गाउँमै अध्ययन गरिरहेका अन्य युवालाई पनि उनले सीप सिकाएर रोजगारी दिएका छन् । कक्षा १२ मा अध्ययनरत ४ जनाले अहिले दैनिक रूपमा बल्ब बनाउन गरेका छन् ।

The idea that flourished in the lockdown made an entrepreneurउनीहरूले प्रतिबल्ब १० रुपैयाँ ज्याला पाउँछन् । दिनमा एक जनाले एक/डेढ सय वटा बनाउन सक्ने उनीहरू बताउँछन् । ‘बिहान स्कुल जान्छौं, दिनमा बल्ब बनाउने काम गर्छौं,’ गाउँमै १२ कक्षामा अध्ययन गरिरहेका स्थानीय प्रविनसिंह विष्टले भने, ‘पढाइसँगै आम्दानी पनि गरिरहेका छौं, घरपरिवारलाई सजिलो भएको छ ।’ उनी नियमित रूपमा काम गर्दैनन् । बिदाका दिन र धेरै माग भएका बेला मात्रै काममा आउँछन् । महिनामा १२/१५ दिन काम गरेर पनि २५/३० हजार आम्दानी हुने गरेको उनले बताए । उनले एलईडी बल्ब बनाउने काम पनि भट्टबाटै सिकेका हुन् ।

स्थानीय विद्यालयमा कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत अमृत नेपाली पनि एक वर्षदेखि बल्व बनाउने काममा लागेका छन् । उनको परिवारमा आम्दानी गर्ने कोही छैन । बल्ब बनाएर महिनामा २५ हजारसम्म आम्दानी हुने र त्यसैबाट पढाई र घर खर्च जुटाइरहेको उनले बताए । ‘महिनामा १०/१५ दिन काम गरेर पढाइ र घर खर्च जुटाउछु,’ नेपालीले भने, ‘घर छेउमै पढाइसँगै आम्दानी गर्न पाएका छौं ।’ उनले पनि उद्योगमै आएर बल्व बनाउने काम सिकेका हुन् । दिनमा उनी पनि एक/डेढ सयसम्म बल्ब उत्पादन गर्न सक्छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully