शुक्लाफाँटा र आसपासमा २२ हजार जलपन्छी

सिकारी ताल रामसारमा सूचिकृत गर्न अध्ययन

फाल्गुन १६, २०८१

भवानी भट्ट

22 thousand waterfowl in and around Shuklaphanta

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा २२ हजार बढी जलपन्छी भेटिएका छन् । गत जनवरी १७ देखि २२ सम्म गरिएको गणनामा निकुञ्जभित्र र बाहिरका ताल तथा नदीनालामा गत वर्षकै हाराहारीमा जलपन्छी भेटिएका हुन् ।

नेपाल पन्छी संरक्षण संघका प्राविधिक हिरुलाल डगौंराका अनुसार निकुञ्जभित्र र बाहिर गरी १ सय ४६ प्रजातिका जलपन्छी भेटिएका छन् ।

सबैभन्दा धेरै निकुञ्जको सिकारी तालमा १८ हजार चरा भेटिएका छन् । सिकारी तालमा गत वर्षको तुलनामा चराको संख्या थोरै बढेको छ । निकुञ्जभित्रका सिकारीसँगै रानी, बाबा, बठनिया, कालीकिच, सालगौडी ताल र चौधर तथा महाकाली नदी क्षेत्रमा गणना गरिएको थियो ।

यसबाहेक बेलौरी नगरपालिकाको पुरैनी र पुनर्वासको बन्दा तालसँगै बेदकोट नगरपालिको बेदकोट तालमा पनि जलपन्छी गणना गरिएको थियो । ‘संरक्षित क्षेत्रभन्दा बाहिर पुरैनी तालमा चराको संख्या राम्रो देखिएको छ,’ डगौंराले भने, ‘निकुञ्जभन्दा टाढा भए पनि यो चराका लागि राम्रो बासस्थान हो ।’ उनका अनुसार पुरैनी तालमा ४७ प्रजातिका ९ सय ६२ चरा भेटिएका छन् । पुरैनीमा गत वर्ष पनि अहिलेकै हाराहारी चरा भेटिएका थिए ।

‘शुक्लाको सिकारी ताल चराका लागि निकै आकर्षक देखिएको छ,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोतम वाग्लेले भने, ‘संरक्षित क्षेत्र र बाहिर भेटिएकामध्ये ८० प्रतिशत बढी चरा सिकारी तालमा भेटिएका छन् ।’ उनका अनुसार सिकारी ताललाई पछिल्लो समय पन्छी तालका रुपमा पनि चिन्न थालिएको छ ।

पन्छी संरक्षण संघले निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, पन्छी संरक्षण समूह कञ्चनपुर र नेपाल पन्छीविद् संघको सहकार्यमा जलपन्छीको गणना गरेको हो । गणनामा ३३ जना प्राविधिक खटिएका थिए । प्राकृतिक तालहरुमा मिचाहा प्रजातिको वनस्पतिले चराको बासस्थान खल्बलिनुका साथै आहाराको अभावका कारण हालका वर्षमा जलपन्छीको संख्या कम हुँदै गएको प्राविधिक डगौंरा बताउँछन् । उनका अनुसार तालहरुको संरचना मिचाहा प्रजाति र भूक्षयका कारण निरन्तर परिवर्तन भइरहेको छ । यसका कारण चरालाई असहज हुने भएर संख्या कम हुन थालेको हो ।

सिकारी ताललाई रामसार सूचिमा समावेश गर्न अध्ययन सुरु गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा अध्ययन टोली गठन गरेको छ । टोलीले गत साता सिकारी तालको अवलोकन गरेको निकुञ्जका संरक्षण अधिकृत वाग्लेले बताए । विभागले नै ताललाई रामसार क्षेत्रमा सूचिकृत गर्न अग्रसरता देखाएको उनले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully