बाजुरामा विवाह भोजमा भएको झडपमा एक युवकको मृत्यु 

फाल्गुन १०, २०८१

अर्जुन शाह

A youth died in a clash at a wedding party in Bajura

धनगढी — बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा परी बुढीगंगा नगरपालिका ९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार बिहीबार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको थियो । झडपका क्रममा बुढीगंगा-७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि अछामस्थित बयालपाटा अस्पताल पुर्‍याइएको थियो । तर शुक्रबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी गिरीले बताए ।

गिरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा बुढीगंगा नगरपालिका-७ बायल गाउँका तीन जना दीर्घ बिष्ट, खेम विष्ट र लोकेन्द्र खड्का गरी तीन जना र झडपमा संलग्न रहेको भनिएका मृतक पक्षका विकल्प थापा र मनिष बिकलाई अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी गिरीले बताए । गिरीका अनुसार दीर्घपनि घाइते छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully