बयालपाटा अस्पतालमा पहिलो पटक ‘हिप’ जोर्नी प्रत्यारोपण

फाल्गुन ३, २०८१

मेनुका ढुंगाना

First 'Hip' joint transplant in Bayalpata Hospital

अछाम — साँफेबगर नगरपालिका–८ बयालपाटाका ३० वर्षीय निरोज भुलको बायाँ खुट्टाले दुःख दिन थालेको तीन वर्ष भयो । खुट्टाको दुखाइ सहन निरोजलाई गाह्रो भएपछि उनका परिवारले सुरुका दुई वर्षसम्म गाउँघरमै झारफुक गराए । 

‘खुट्टा झम्झम् गर्ने समस्या सामान्य होला भन्ने लाग्यो । झारफुक गराए निको होला सोच्यौं, तर भाइको खुट्टाको दुखाइ कम भएन,’ निरोजका दाइ विक्रम भुलले भने, ‘दुई वर्षसम्म झारफुक गर्यौं । औषधि उपचार गर्दा पनि झन् समस्या बल्झिन लाग्यो ।’

एक्सरे, भिडियो एक्सरे गर्दा खुट्टामा समस्या नदेखाउने तर खुट्टा दुखिराख्ने, उकालो उरालो हिँड्न गाह्रो हुने, ठूलो समान बोक्न अप्ठेरो हुने, राति सुत्दा पनि दुख्ने, शरीरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले उनलाई पिरोलिरहेको थियो ।

विक्रमका अनुसार गत वैशाखमा धनगढीको एक निजी अस्पतालमा पुग्दा त्यहाँ उपचार सम्भव नभएको भन्दै राम्रो अस्पताल लैजान सल्लाह दियो । कमजोर आर्थिक अवस्थाका कारण उपचार नगरी उनीहरू घर फर्के । ‘राम्रो ठाउँमा जान पैसाको जोहो गर्न सकिएन । भाइ बिरामी भयो । उपचार गर्न नसक्दा मलाई झन् गाह्रो भयो,’ निरोजले भने, ‘धनगढीमा डाक्टरले हिपको जोर्नी प्रत्यारोपण गर्नुपर्छ, ९ लाखसम्म खर्च हुन सक्छ भनेका थिए ।’

आर्थिक अभावका कारण भाइको उपचार गराउन नसकेपछि विक्रमले ६ महिनाअघि बयालपाटा अस्पतालमा पुगेर भाइको हिपको जोर्नी प्रत्यारोपणका लागि लाग्ने सामग्री आफैं ल्याउने र भाइको उपचार बयालपाटा अस्पतालमा गरिदिन अर्थोर्पेडिक सर्जन डा. मन्दीप पाठकसँग आग्रह गरे । ‘डाक्टर मन्दीपले खुट्टाको एमआरआई गरेर आउन भने । भाइलाई नेपालगन्ज लिएर एमआरआई गराएर अछाम फर्कें,’ उनले भने ।First 'Hip' joint transplant in Bayalpata Hospital

डा. पाठकका अनुसार निरोजको बायाँ खुट्टाको गेठी (हिप) पूर्ण रूपमा मरेको थियो । उनको पूरै हिप रिप्लेस्मेन्ट (खुट्टाको कम्मरमा रहेको गेठी) को प्रत्यारोपण गर्नुपर्ने थियो । डा.मन्दीपको नेतृत्वमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. भाष्कर राजपन्त, अर्थोपेडिक सर्जन डा. सन्दीप भण्डारीसमेत संलग्नतामा सफल शल्यक्रिया भएको हो ।

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको शल्यक्रियाका लागि डा. पन्त र भण्डारी काठमाडौंबाट अछाम आएका थिए । ‘बयालपाटा अस्पतालमै पहिलो पटक निरोजको हिप रिप्लेसमेन्ट गर्ने शल्यक्रिया सफल भयो,’ डा. पाठकले भने, ‘दुर्गम ठाउँमा पहिलो पटक भएको यस्तो शल्यक्रियामा हुन सक्ने जोखिम पनि उस्तै थियो । स्रोतसाधनको अभावले हुन सक्ने अप्ठ्यारोका बीच सफल शल्यक्रिया भयो ।’ 

निरोजको पूर्ण हिप जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डा. पन्तका अनुसार सुदूरपश्चिम पहाडमै पहिलो पटक यस्तो खालको अप्रेसन बयालपाटा अस्पतालमा भएको हो । विशेष प्रविधिको उपकरण काठमाडौंबाट ल्याएर शल्यक्रिया गरिएको उनले बताए । ‘अमेरिकामा बनेको नयाँ कम्पनी जिम्मरको उपकरण यस अप्रेसनमा प्रयोग गरिएको छ । त्यसका लागि प्राविधिक सहयोगीसमेत बयालपाटा अस्पताल पुगेको हो,’ उनले भने ।

डा. पन्तका अनुसार बिरामीलाई अर्ध बहोस गराइ भित्र बिग्रेको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी काटेर त्यसको ठाउँमा कृत्रिम गेठी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाउँ) समेत कृत्रिम बनाइने खालको शल्यक्रिया हो ।

बयालपाटामा दैनिक उपचार गराउन आउनेमध्ये ८ देखि १० जना हड्डी खिइएका बिरामी आउने गरेको उनले बताए । बयालपाटामा अस्पतालमा डाइलाइसिस, हाइडोसिल, हर्निया, एपेन्डिक्स, स्टोन, गलब्लाडर, दूरबिनबाट दिइने सेवासमेत दिन सकिने डा. मन्दीपले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully