धनगढी — कैलालीको टीकापुर नगरपालिकाले टीकापुर क्षेत्रलाई ‘रोज सिटी’ का रूपमा स्थापित गराउने तयारी गरेको छ । शुक्रबार भ्यालेन्टाइन-डे का दिनदेखि १० हजार गुलाबका बिरुवा रोपेर अभियान सुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख रामलाल डंगौरा थारूले नगरपालिकालाई गुलाबको सहर बनाउने अभियान सुरु गरिएको बताए । ‘फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन–डे दिनदेखि अभियान सुरु गर्दैछौं,’ नगरप्रमुख थारूले भने ‘टीकापुरलाई गुलाबको सहरका रूपमा स्थापित गर्छौं । १० हजार गुलाबको विरुवा रोप्ने तयारी छ ।’
नगरप्रमुख थारुले टीकापुर व्यवस्थित सहर हो, आवश्यक पूर्वाधार संरचना लगभग बनिसकेका छन् । ‘यसअघि टीकापुर पार्कको परिचयले ख्याति कमाएको टीकापुरलाई अब गुलाबको सहरका रूपमा पनि स्थापित गर्ने योजना हो,’ उनले भने ‘हामीले गुलाबको बोटका लागि अन्त कतै जानुपर्ने अवस्था पनि छैन । टीकापुरमै पर्याप्त छन् ।’ टीकापुर पार्कमा ३६ प्रजातिका गुलाब पाइन्छन् ।
पहिलो चरणमा १ देखि ९ नम्बर वडासम्म, सरकारी कार्यालय, सरकारी क्षेत्रमामा बिरुवा रोपिने उनले बताए । टीकापुरबासी हरेक परिवारले एक-एक बोट आफै रोप्न तयार भएको उनको भनाइ छ । ‘नगरपालिकाबाट १० लाख बजेट विनियोजित छ । तर न्यून खर्च गर्छौं,’ नगरप्रमुख थारूले भने, ‘संरक्षण र व्यवस्थापनमा एक डेढ लाख जति खर्च होला ।’
