दार्चुला — २३ जनवरीमा हुने भारतको स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल तीन दिन बन्द भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत जोड्ने दार्चुला सदरमुकाम खलंगास्थित झोलुङ्गे पुल तीन दिनसम्मलाई बन्द भएको हो ।
सदरमुकाम पारि रहेको धारचुला तहसिल अन्तर्गतको धारचुला नगरपालिका परिषद्को चुनाव हुन लागेको हो । मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारत पिथौरागढ जिल्लाको धारचुला तहशिलअन्तर्गत स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल बन्द गरिन लागेको जनाएको छ ।
प्रशासनका अनुसार खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ ८ गते अपरान्ह ५ बजेदेखि माघ १० गते मतदान प्रक्रिया समाप्त नभएसम्म (तदनुसार दिनाङ्क २१–०१–२०२५ साम ५ बजेदेखि दिनाङ्क २३–०१–२०२५ सम्म) का लागि बन्द रहने छ ।
