कञ्चनपुर — जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् ।
महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवानले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार डिउटीमा रहेका प्रहरी जवान वकिल विष्टले साँझ सवा ८ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । दाइने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको डीएसपी जोशीले बताए ।
उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ‘साँझ सेन्ट्री (डिउटी) बसेका बेला आफैंले बोकेको हतियारले गोली चलाएका हुन्,’ डीएसपी जोशीले भने, ‘गोली प्रहार गर्नुको कारण भने पत्ता लागेकेा छैन, यसअघिको अवस्था पनि सामान्य नै थियो ।’
करिब एक महिनाअघि जिल्ला प्रहरी कार्यालयको प्रबन्ध (हातहतियारको रेखदेख गर्ने) शाखामा कार्यरत प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए । निको भएर अहिले उनी घरमै आराम गरिरहेको डीएसपी जोशीले बताए ।
