सदरमुकाम मार्तडीदेखि कोल्टी बस सेवामा जोडिएसँगै यस क्षेत्रका बासिन्दाको पहुँच कर्णाली करिडोरसँग पनि पुग्यो
धनगढी — विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको बाजुराको पूर्वोत्तर क्षेत्रको कोल्टीमा पहिलो पटक बस पुगेको छ । शनिबार बिहान बस पुग्ने भएपछि कोल्टी बजारका बासिन्दा अबिर र माला लिएर घर अघिल्तिर उभिएका थिए । बिहान घामको झुल्कोसँगै कोल्टी चौरमा तीन वटा बस पुगे ।
कर्णालीसँग जोडिएको बाजुराको विकट कोल्टी क्षेत्रका बासिन्दा यातायात सेवा सञ्चालनका लागि वर्षौंदेखि प्रतिक्षारत थिए ।
पहिलो पटक शनिबार कोल्टी चौरमा झुल्किएका तीनै बस स्थानीय बासिन्दाका लागि विशेष अतिथि सरह थिए । अझ त्योभन्दा पनि माथि । तत्कालीन समयमा पालवंशी, सिंजा र बझांगी राज्यको प्रशासनिक इकाइ रहेको कोल्टी चौरमा अहिले पनि विभिन्न सांस्कृतिक मेला र पर्व आयोजना गर्ने परम्परा छ । त्यही ठाउँमा शनिबार पहिलो पटक बस पुगेको खुसीमा स्थानीय जनप्रतिनिधि र कोल्टी क्षेत्रका अगुवाले स्थानीयले पञ्चैबाजासाथ ध्वजापताकाले सजाएका तीन वटा बसको एकसाथ स्वागत गरे ।
यहाँ बस चल्न थालेपछि बाजुराको पूर्वोत्तर कोल्टी क्षेत्रका चार स्थानीय तहबाहेक कर्णालीका १३ पालिकाका बासिन्दा लाभान्वित हुन्छन् । ‘कोल्टीमा पहिलो पटक बस पुग्दाको खुसीमा ८५ वर्षका बीरबहादुर शाहीलगायतका बृद्धबृद्धा थालमा अबिर लिएर स्वागतका लागि पर्खिबसेको देख्दा हर्षविभोर भयौं,’ बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले भने, ‘जमाना कहाँसम्म पुगिसक्यो तर हाम्रा लागि भने बस पुग्नु नै सबथोक जस्तो भयो ।’
पहिलो पटक महाकाली यातायातका ना७ख ५८७३ र ५३३५ तथा शिवपुरी यातायातको ८९४१ नम्बरका बस कोल्टी पुगेका थिए । ना७ख ५८७३ का चालक भेषराज रेग्मी पनि आफूहरुलाई स्थानीयले गरेको स्वागतले भावुक बनाएको बताए । बुढीनन्दा नगरपालिकाले कोल्टी बजारनजिक बसपार्क निर्माण गरेको छ । कोल्टी चौर हुँदै पहिलो पटक पुगेका बस त्यहीँ रोकिएका थिए । बसपार्कमा पुगेपछि कोल्टी क्षेत्रका कुलदेवता थिमकोट कैलाश देउताका धामी कृष्ण बोहराले विधिवत् पूजा गरेको नगरप्रमुख बोहराले बताए ।
सदरमुकाम मार्तडीदेखि कोल्टी बस सेवामा जोडिएसँगै त्यस क्षेत्रका बासिन्दाको यातायात सुविधामा कर्णाली करिडोरसँग पनि पहुँच पुगेको छ । ‘कोल्टी क्षेत्र र कर्णालीका १३ वटा पालिकाका बासिन्दाका लागि स्वास्थ्य सेवा उपलब्ध भएको ठाउँ कोल्टी मात्रै हो,’ बोहराले भने ‘सदरमुकामसम्म बस यातायात सेवा सञ्चालन भए अब कोल्टीमा उपचार सम्भव नभएका बिरामीले तत्काल सदरमुकाम वा अछाम, डडेलधुरा वा धनगढी जान सहज हुने भएको छ ।’
२ हजार १८८ वर्गकिलोमिटर क्षेत्रफल तथा ९ वटा पालिका रहेको बाजुराका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका पूर्वोत्तर कोल्टी क्षेत्रमा पर्छन् । छरिएका बस्ती रहेको कोल्टी क्षेत्रको भूभाग भने दक्षिणी क्षेत्रका पाँच स्थानीय तहभन्दा धेरै छ । कोल्टी क्षेत्रका चार स्थानीय तहको क्षेत्रफल १ हजार ३४५ दशमलव ०५ वर्गकिलोमिटर छ ।
बाजुरा सदुरमुकाम मार्तडीबाट कोल्टी जोड्ने ४२ किलोमिटर सडक निर्माण अभियान २५ वर्षअघि सुरु गरिएको थियो । २०५७ मा विश्व खाद्य कार्यक्रमद्वारा कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरेर स्थानीय बासिन्दाले सडक निर्माण कार्य सुरु गरेका थिए । २०६८ मा कोल्टी क्षेत्रका अगुवा एवं पूर्व जिविस सदस्य अजबहादुर मल्लको अगुवाईमा कोल्टी क्षेत्रका तत्कालीन १६ वटा गाविसको सयुक्त पहलमा पहिलो पटक डोजर लगाएर सडक विस्तार गर्ने कार्य गरिएको थियो । २०७७ मा मार्तडी–कोल्टी सडक स्तरोन्नतिको जिम्मेवारी प्रदेश सरकारले लिएर कार्य गरिरहे पनि निर्माण कार्य छरितो छैन । स्थानीय बासिन्दा निर्माण कम्पनी र प्रदेश सरकारसँग रुष्ट छन् ।
कोल्टीमा बस पुगे पनि स्थानीयमा निरन्तर सञ्चालनको चिन्ता छ । र्मातडी–कोल्टी खण्डमा पर्ने तीन वटा खोलामा पक्की पुलको आवश्यकता छ । बाउली, अनाई र दानसाँघुमा पुल निर्माण नहुँदासम्म बाह्रै महिना कोल्टीसम्म सडक यातायात सञ्चालन हुन नसक्ने अवस्था छ । ‘बस सेवा नियमित सञ्चालनका प्रयत्न गरिरहन्छौं,’ नगरप्रमुख बोहरा भन्छन् ‘अप्ठ्यारा घुम्तीमा अहिले पनि नगरपालिका आफैले डोजर परिचालन गरेर सहज बनायौं । अब बसको सुविधा रोकिएमा त नागरिकको चर्को दबाब सम्बन्धित पक्षले खेप्नै पर्नेछ ।’ मार्तडीदेखि कोल्टीको बस भाडा पाँच सय रुपैयाँ कायम गरिएको उनले जनाए ।
