८४ वर्षको उमेरमा रस्सी बेच्न गाउँगाउँ डुल्दै रामस्वरूप

पुस २७, २०८१

भवानी भट्ट

At the age of 84, Ramswaroop is going from village to village to sell rope

कञ्चनपुर — उमेर ८४ वर्ष पुगिसकेको छ । यो वृद्ध उमेरमा पनि पुरानो साइकलको पाइडल चलाउँदै उनी कोसौं टाढा पुग्छन् । अगाडि झोला र पछाडि प्लास्टिकका डोरी तथा डोरीबाट बनेका विभिन्न सामग्री राखेर उनी त्यसलाई बिक्री गर्न गाउँगाउँ डुलिरहेका हुन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१० नयाँगाउँका ८४ वर्षीय रामस्वरुप राना गाउँगाउँ डुल्दै कोसौंको दूरी तय गरिरहेका छन् । दिनभर गाउँ डुलेर डोरी र अन्य सामग्री बिक्री गरेर राति अबेर घर फर्किन्छन् । चौपाया बाँध्ने डोरी (रस्सी), जंगलबाट स्याउला र पात बोक्ने डोरी तथा जाललगायतका सामग्री आफैं बनाएर उनी बिक्री गर्छन् ।

यस्ता डोरी उनले एक सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री गरिरहेको बताए । ‘त्यसैबाट घर खर्च चलाइरहेको छु । कहिले एउटा गाउँ त कहिले अर्को गाउँ पुगेर रस्सी बिक्री गर्छु,’ रानाले भने, ‘पाँच वर्ष भयो, यसैगरी डुल्न थालेको ।’ उनले बजारबाट डोरी बनाउने प्लास्टिक खरिद गर्छन् । त्यसपछि घरमा लगेर आफैं डोरी बनाउँछन् । धेरै माग भयो भने गाउँका अन्यलाई पनि डोरी बनाउने काममा लगाउँछन् । त्यसबापत उनले निश्चित पारिश्रमिक पनि दिन्छन् ।

राना बिहानै खाना खान्छन् । त्यसपछि रस्सी र अन्य सामग्री साइकलमा राखेर आफूसँग भएका बस्तुको नाम भन्दै हिँड्छन् । ‘रस्सी लेउ, पतेला बोक्ने जाल लेउ, गाईभैंसीका मुखौडा लेउ’ यस्तै गरी आफ्ना सामग्रीको प्रचार गर्दै हिँड्छन् । कोरोना संक्रमणका बेला लकडाउन भएपछि उनलाई परिवारको गुजारा चलाउन निकै समस्या भयो । त्यहीबेलादेखि हो उनले गाउँगाउँ डुलेर डोरी बेच्न थालेको । त्यसपछि आम्दानीको स्रोत नै यही बन्न पुग्यो । अचेल उनलाई बानी नै परिसकेको छ ।

प्लास्टिकका रस्सी बिक्री गर्न उनी भीमदत्त नगरपालिकाको गड्डाचौकीदेखि बेदकोट नगरपालिकाका र शुक्लाफाँटा नगरपालिकासँगै कुनै दिन त दक्षिणी क्षेत्रको बेलडाँडी र बेलौरीसम्मै पुग्छन् । ‘राम्रो बिक्री भएका दिन दालमा नुन खान भइहाल्छ, तर कुनै दिन सय/दुई सयको मात्रै बिक्री हुन्छ,’ राना भन्छन्, ‘बुढेसकालमा अरु काम पनि गर्न सकिंदैन, आफूसँग भएको सीप पनि यही हो ।’ उनले घरमा चाहिने डोरीका सामग्री सबै आफैं बनाउँथे । बिक्री गर्ने कुरा सोचेका पनि थिएनन् । गाउँलेका लागि पनि बनाइदिन्थे ।

लकडाउनका बेला घरमा बस्दा बस्दै उनले यो जुक्ति निकालेका हुन् । अहिले यस्ता सामग्री खरिद गर्ने उनका ग्राहक पनि भइसकेका छन् । खासगरी ग्रामीण भेगमा बस्तुभाउ पालन गर्ने, घाँस–दाउरा बोक्नेहरूले यस्ता सामग्रीको प्रयोग गर्छन् । तिनै उनका ग्राहक पनि हुन् । यस्ता सामग्रीको बढी माग हुने चुरे फेदी र जिल्लाको दक्षिणी क्षेत्रतिर बढी मात्रामा जाने गरेको उनले बताए ।

‘कसैकसैले त फोन गरेर पनि मगाउँछन्,’ रानाले भने, ‘तर आफू जाने ठाउँमा महिना–दुई महिनामा पुगि नै रहन्छु ।’ उनका अनुसार चुरे फेदीका बस्तीमा सामुदायिक वनबाट घाँस–दाउरा र मलका लागि सुकेका पात ल्याउने चलन भएका कारण रस्सी र जालको माग बढी हुन्छ । उनी बाह्रै महिना यही काममा व्यस्त हुन्छन् ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully