कञ्चनपुर — चुरे क्षेत्रसँग जोडिएको ब्रह्मदेव करिडोरमा बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको छ । शुक्रबारदेखि ब्रह्मदेव करिडोर तथा आसपासका क्षेत्रमा क्यामेरा ट्रयापिङबाट बाघ तथा आहारा प्रजातिको गणना सुरु भएको हो ।
करिडोरमा पर्ने बेदकोट नगरपालिकाको छेला सब-डिभिजन वन क्षेत्रमा एक जोडी स्वचालित क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो । करिडोर तथा आसपासका क्षेत्रलाई २ गुणा २ किलोमिटरका ७५ ग्रीड बनाइएका छन् । हरेक ग्रीडमा एक/एक जोडी स्वचालित क्यामेरा राखिन्छ । क्यामेरा जडान भएको मितिले कम्तीमा १५ राति राखिनेछन् । त्यसपछि क्यामेरा निकालिनेछन् ।
‘यस क्षेत्रमा बाघ तथा अन्य वन्यजन्तुको अवस्था कस्तो भन्ने यो गणनाले देखाउनेछ,’ सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराइले भने, ‘बाघ तथा आहारा प्रजातिसँगै अन्य ठूला वन्यजन्तुको अवस्था पनि यसले केही न केही देखाउनेछ ।’
ब्रह्मदेव करिडोर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई चुरे क्षेत्रसँग र महाकाली पारी भारतको नान्धौर संरक्षित क्षेत्रसँग जोडने भएकाले महत्त्वपूर्ण मानिन्छ । यो करिडोर उत्तर-दक्षिण जोडिएकाले जलवायु परिवर्तको असरका कारण उत्तरी क्षेत्रतर्फ बसाइँ सर्ने वन्यजन्तुका लागि समेत यो महत्त्वपूर्ण भएको भट्टराईले बताए ।
महाकाली नदी किनारदेखि लालझाडी मोहोना संरक्षित क्षेत्रसम्म कञ्चनपुर र डडेलधुराको वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिनेछन् । ती क्यामेराहरूको नियमित रूपमा अनुगमन र रखेदेखसमेत गरिनेछ ।
खुल्ला क्षेत्र भएकाले क्यामेराहरुको चोरीसमेत हुने भएकाले नियमित अनुगमन आवश्यक रहेको जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताए । उनले बाघ र हात्तीको मुख्य करिडारमा अन्य वन्यजन्तुको उपस्थितिसमेत यसले पहिचान गर्ने बताए ।
ब्रह्मदेव करिडोर २०१८ र २०२२ को राष्ट्रिय बाघ गणनामा समावेश गरिएको थियो । २०२२ को राष्ट्रिय गणनामा डडेलधुराको परशुराम क्षेत्रमा एउटा बयस्क बाघ देखिएको थियो ।
