बझाङ — बाटोमा हिँडिरहेका बेला सडकमाथिबाट खसेको ढुंगा लागेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ ।
स्थानीय मालुमेला बजारबाट घर फर्किने क्रममा शनिबार उक्त घटना भएको स्थानीय विश्वप्रकाश जोशीले बताए । जडार कोइरालकोट सडकको मालुमेला बजार नजिक उक्त घटना भएको हो ।
थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो । विगत दुई दशकदेखि उनी स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।
