मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

पुस १२, २०८१

अर्जुन शाह

Health worker dies in motorcycle accident

धनगढी — मोटरसाइकल दुर्घटनामा परी धनगढीमा बाजुराका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढीस्थित ६ लेन सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकलमा ठोक्किएर बाजुराको बडीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।

खत्री बाजुराको मार्तडी स्वास्थ्य चौकी चुथीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्रसिंह बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक शिखर नगरपालिका-११ कि २५ वर्षीया शर्मिला थापा घाइते भएकी छिन् । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । 

दुर्घटनामा परेका स्वास्थ्यकर्मीहरु धनगढीमा ९ गतेदेखि तालिममा सहभागी थिए । स्वास्थ्यकर्मी खत्रीको मृत्युपछि उनले दुई दिनअघि दुर्घटना भएकै सडकमा भिडियो खिचेर टिकटक पोष्ट गरेका थिए । उक्त टिकटक भिडियो यतिबेला भाइरल भएको छ । 

उक्त टिकटक भिडियोमा उनले ‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् । अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिन । तब तिमीलाई मेरो मायाको आभास हुनेछ,’ खत्रीले पोस्ट गरेको भिडियोको पृष्ठभूमिमा भनिएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully