जुम्ला — सिंजा गाउँपालिका-६ का किसानलाई आलु बेच्न भ्याइनभ्याइ छ । व्यापारीहरू गाउँमै आलु खरिद गर्न थालेपछि प्रतिकेजी ३० रुपैयाँमा आलु बेचिरहेका छन् । गत वर्षसम्म आलु बिक्री नहुँदा खाल्डोमै कुहाउन बाध्य उनीहरु अहिले व्यापारीलाई पुर्याउन सकिरहेका छैनन् ।
व्यापारी गाडी लिएर गाउँमै आलु खरिद गर्न पुगेपछि खाल्डोमा भण्डारण गरिरहेका आलु धमाधम निकाल्न सुरु गरिएको छ । गाउँमा सामुहिक रुपमा आलु खेती गरिएकोले बेच्न पनि सहज भइरहेको स्थानीय बेलकौरा बुढाले बताइन् ।
उनका अनुसुार महादेव जनसेवा कृषि उत्पादन समुहले दुई हेक्टर क्षेत्रफलमा आलु खेती गरेको छ । त्यो क्षेत्रलाई आलु पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ । सिंजा गाउँपालिका-६ को माजखर्कमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ ।
यहाँ जुम्लाकै रैथाने आलु पाइने भएकोले माग पनि अधिक हुने गरेको छ । यहाँको आलु सुर्खेत, नेपालगञ्जदेखि कर्णालीकाजिल्लाहरुमा जाने गरेको छ । आलु उत्पादनमा किसानहरुको ध्यान केन्द्रीत गर्ने र आयआर्जनको प्रमुख स्रोत आलु खेती बनाउन सामुहिक खेतीको प्रावधान अघि सारिएको वडाध्यक्ष लालबहादुर बुढाले बताए ।
समूहका अनुसार २ लाख ३१ हजार रुपैयाँ बराबरको आलु निर्यात भइसकेको छ । सबै पुरुषहरु कालापहाड तिर गएकोले आलु बेच्ने कार्यमा महिलाहरु जुटिरहेका छन् ।समूहका सचिव जोवना बुढाले ७७ क्वीन्टल आलु बेचिसकेको बताइन् । गत वर्ष एक सय ४ क्वीन्टल आलु बेचेर तीन लाख १२ हजार रुपैयाँ भित्र्याएका थियौं,’ सचिव जोवनाले भनिन्, ‘यो वर्ष गतवर्षको तुलनामा किनबेच बढ्ने देखिन्छ ।’
कुल ५१ सदस्यहरु मिलेर आलुखेती गरेका छन् । ‘गाउँमै सडक पुगेकोले आलुको बजारीकरणमा खासै समस्या छैन्,’ उनले भनिन्, ‘किसानले फलाउन सक्नु मात्र पर्यो । आलु किन्न व्यापारी घरमै पुग्छन् ।’ आलुखेती प्रति किसानको लगाब देखेपछि सिंजा गाउँपालिका कृषि विकास शाखाले गत वर्ष तीन लाख र चालु आर्थिक वर्षमा दुइ लाख २४ हजार रुपैयाँ सहयोग गरेको थियो ।
सिंजा गाउँपालिका-६ लाई आलु उत्पादन क्षेत्रका रुपमा विस्तार गर्न थालिएको वडाध्यक्ष बुढाले बताए । उनले भने, ‘समग्र वडालाई कृषि क्षेत्रमा अघि बढाउन प्रयत्न भइराखेको छ । व्यवसायमा हौसला बढाउन लागि परेका छौं ।’
अहिले सदरमुकाम खलंगा क्षेत्रमा आलुको मुल्य प्रतिकेजी ५० रुपैयाँमा किनबेच भइरहेको छ । दुर्गम क्षेत्र मानिएको सिंजामा प्रतिकेजी ३० रुपैयाँ पाउनु राम्रो काम हो । वडाध्यक्ष बुढाले स्थानीय जातको आलु भएकोले खानामा निकै स्वादिलो र पोषिलो छ । आगामी दिनमा आलुखेतीलाई विस्तार गर्न बजेट, नीति कार्यक्रममा समेत प्राथमिकता दिने सिंजा गाउँपालिकाले जनाएको छ ।
मकै, सिमी लगायतका बालीमा आलु लगाउने चलन छ । पछिल्लो समयमा आलुको छुट्नै खेती गर्ने गरिएको किसानहरुले बताएका छन् ।
