पीडित महिला नै न्यायको पहुँचबाहिर

महिला हिंसाविरुद्धको अभियान

मंसिर २४, २०८१

मेनुका ढुंगाना

The victim is the woman beyond the reach of justice

अछाम — मंगलसेनकी निर्मला (नाम परिवर्तन) ३८ वर्षकी भइन् । उनका ३ छोरी र दुई छोरा छन् । एक छोरीको बिहे भएपछि उनीसँग २ छोरी र दुई छोरा छन् । तिनै छोराछोरीको पढाइलेखाइ र पालनपोषणका लागि उनी दिनरात काम गर्छिन् । कहिले ढुंगा बोक्ने, कहिले अरुको खेतीपातिको काम गर्ने र कहिले सडकको छेउछाउमा बसेर गिट्टी कुट्छिन् । हरेक दिन दोब्बर काम गरेपछि मात्रै उनको छाक टर्छ । श्रीमान् काम गर्न भारत गएको बेला उनी ढुक्कले बस्न सक्छिन् । तर एक वर्षदेखि उनका श्रीमान् घरमै छन् ।

एक वर्षदेखिका कैयौं रात दिनको मिहिनेतले चामल किनेर ल्याएको पनि पकाउन पाएकी छैनन् । कारण, जड्याँहा श्रीमान् । श्रीमान्ले हरेक बेला कुटपिट गर्ने, छोरीमाथि अभद्र व्यवहार गर्न थालेपछि उनी पटक–पटक प्रहरीकोमा उजुरी दिन गइन् । तर उनले न्याय भने कहिल्यै पाइनन् ।

‘अहिले श्रीमान् र छोरी एउटै घरमा बस्न सक्ने अवस्था छैन । छोरीहरूलाई अश्लील शब्द प्रयोग गर्ने, कुटपिट गर्न थालेपछि जेठी छोरीलाई १७ वर्षको उमेरमा विवाह गर्न लगाएँ । माइली छोरी तीन दिनअघि घरमा बस्न सक्दिन भन्दै गाउँका मान्छेसँग बम्बई गइहालिन्,’ उनले भनिन्, ‘दिउँसो त अर्काको काम गर्दै समय बित्छ । राती असाध्यै डर लाग्छ । कुन दिन मार्छ भन्ने पिरले सताउँछ ।’ 

पटक–पटक शारीरिक र मानसिक यातना दिँदा पनि सहेर बसेको र अन्तिम अवस्थामा प्रहरीकहाँ उजुरी गर्दा पनि न्याय नपाएको उनको गुनासो छ । ‘प्रहरीकहाँ उजुरी गर्दा ‘न त यसले कुटपिट गरेको देखिन्छ, न मार्न खोजेको देखिन्छ, तपाईं मिल्नूस्’ भन्दै प्रहरीले घर पठाइदिए । उसले फेरि बाटोमा कुरेर कुटपिट गर्न सुरु गरिहाल्यो,’ उनले भनिन्, ‘आफ्नो र छोराछोरीको ज्यान बचाउनका लागि मैले प्रहरीलाई गुहारेकी थिएँ । त्यता पनि मेरो कुरा सुनी दिएनन् । गरिबले त न्याय नै नपाइँदो रहेछ ।’

प्रहरी कार्यालय जाँदा श्रीमान् श्रीमतीको सम्बन्ध भएकाले मिल्न दबाब दिने गरेको न्यायिक समितिका बारेका जानकारी नभएको उनले बताइन् । अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । यो बेलामा उनकै स्थानीय तहदेखि अन्य निकायले धुमधामका साथ अभियान मनाइरहेका छन् । तर उनी भने बेखबर छन् । ‘केही कार्यक्रम हुने भयो भने गाउँका सधैं गइराख्ने महिलाहरू जान्छन् । त्यस्ता ठाउँमा गएर मजस्ता दुःख पीडा पाएका महिलाहरू कहाँ बोल्न सक्छौं र ! बोल्न नसक्ने भएर होला खबर पनि हुन्न,’ उनले भनिन् ।

कमलबजार नगरपालिका– ५ की मीना (नाम परिवर्तन)को पीडा पनि निर्मलाको जस्तै छ । जड्याँहा श्रीमान्ले शरीरमा आगो लगाउने प्रयास गरेपछि जसोतसो उनी बाँच्न सफल त भइन् । तर, शरीरको दायाँ भाग भने आगोले पोलियो । हरेक दिन मदिरा सेवन गरी श्रीमान्ले कुटपिट गर्न थालेपछि उनी मानसिक रूपमा तनावमा छिन् । १ वर्षको अवधिमा उनी ५ पटकभन्दा बढी प्रहरी कार्यालयमा न्याय खोज्न पुगिसकेकी छन् । स्थानीय न्यायिक समितिसम्म पुग्न सकिने बाटो पनि उनले पत्ता लगाइन् । तर अहिलेसम्म न्याय भने पाएकी छैनन् ।

एक वर्षअगाडि दसैं मनाउन भारतबाट आएका श्रीमान्को दैनिकी मदिरा सेवन गरी श्रीमती र छोराछोरी कुटपिट गर्नु हो । गाउँमै काम गर्ने बहानामा उनी फेरि भारत गएनन् । ‘मलाई दैनिक कुटपिट गर्ने, घरबाट निस्केर जा भन्छन् । म तीन जना छोराछोरी लिएर कसको घर जाउँ ? श्रीमान्ले कुट्न सुरु गरेपछि सासू पनि कुट्छिन् । प्रहरीकहाँ उजुरी गर्यो भने पनि मिल्नुपर्छ भनेर पठाउँछन्,’ उनले भनिन्, ‘मजस्ता महिलाको समस्या बुझिदिने कोही छैन । हाम्रा लागि बोलिदिने पनि कोही छैन । दिवस अभियान के हुन् ? त्यो पनि थाहा छैन ।’

बारम्बार हिंसामा पर्ने, न्यायका लागि भौंतारिँदा पनि न्याय नपाउने र हिंसा प्रभावित महिलाका नाममा हुने कार्यक्रमबारे बेखबर हुने निर्मला र मीना प्रतिनिधि पात्र मात्रै हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन आर्थिक वर्षमा अछाममा १ सय २९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३९, २०७९/८० मा ५३ र २०८०/८१ मा हालसम्म ३७ मुद्दा आएका छन् । १ सय ७ उजुरीलाई मिलापत्र गरेर पठाइएको र २२ मुद्दा मात्रै अदालती प्रक्रियामा गएका छन् । ‘सबैभन्दा धेरै श्रीमान्/श्रीमतीका मुद्दा छन् । अदालतसम्म जान नचाहने नै हुन्छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यो संख्याले घरेलु हिंसाको डरलाग्दो अवस्था देखाउँछ ।’ 

परम्परागत कुरीतिलाई अझै पालना गर्नु, पितृसत्तात्मक सामाजिक संरचना, गरिबी, अशिक्षा, जनचेतनाको कमीका कारण घरेलु हिंसा बढिरहेको उनले बताए । समाजमा बदनामी हुने डरले घरेलु हिंसाका घटना बाहिर नआउने र अन्तिम अवस्थामा प्रहरीमा पुग्ने गरेको उनले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully