कैलालीमा एक करोड मूल्य बराबरको सुनचाँदी र नगदसहित तीन जना पक्राउ 

मंसिर २३, २०८१

अर्जुन शाह

Three people arrested with gold and silver worth Rs 1 crore in Kailali

धनगढी — कैलालीको भजनीबाट सशस्त्र प्रहरीले नगदसहित एक करोड बढी मूल्य बराबरका सुनचाँदी बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले भजनी क्षेत्रको भारतसँग सीमा जोडिएको मोहना नदीको कौवाखेडाबाट सुनचाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ७ का डीआईजी दीपक अधिकारीका अनुसार शनिबार साँझ सशस्त्र प्रहरी ३४ नम्बर गण अन्तर्गतको पगियापसार बोओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सुर्खेत चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, सुर्खेतकै विरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनारलाई नगद, सुनचाँदी सहित पक्राउ गरेको हो ।  

उनीहरुबाट ८० लाख ७९ हजार ५३१ मूल्य बरावरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० मूल्य बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी र ६ लाख ११ हजार ६सय २५ भारतीय रुपैया, साउदी रियाल,चार थान मोबाइल सेट र चाँदीको लेप लगाएका भाँडाकुँडा बरामद गरिएको डीआईजी अधिकारीले बताए ।

‘चोरीको हो या आफैँले खरिद गरेर ल्याएको हो भन्ने खुलेको छैन,’ डीआइजी अधिकारीले भने, ‘एक जना सुनको कारोबार गर्ने व्यवसायी पनि छन् ।’ तर उनीहरुले ल्याएको सुनचाँदी लगायतका सामानको स्रोत नखुलेपछि वरामद गरिएको हो । बरामद गरिएको सामान भन्सार कार्यालय बुझाइने भएको छ । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully