स्वरोजगार बन्दै ग्रामीण महिला

मंसिर १९, २०८१

अर्जुन शाह

Rural women becoming self-employed

धनगढी — धनगढी उपमहानगर–१४ सानीडाँडाकी भावना पुलामी मगरले सालका पातको दुनाटपरी उद्योग सञ्चालन गरेर आफूमात्रै स्वरोजगार भएकी छैनन्, गाउँकै अन्य ६ जनालाई प्रत्यक्ष र अन्य २४ जनालाई अप्रत्यक्ष रोजगारी दिएकी छिन् ।

सालका पातको दुनाटपरी बनाउन भावनाले सुरुमा एक लाख रुपैयाँमा एउटा विद्युतीय मेसिन खरिद गरेकी भावनाले हाल ६ वटा मेसिन जोडिसकेकी छिन् ।

मेसिनमा पात राखेर दुनाटपरी बनाउने कामदारलाई प्रतिगोटाका दरले ज्याला दिने गरेको उनले बताइन् । भावनालाई बजारको कमी छैन । हाल सुदूरपश्चिमका विभिन्न जिल्लासहित पोखरा, काठमाडौंलगायतका सहरमा आफ्नो उत्पादन बिक्री हुने गरेको उनले बताइन् ।

‘धेरैजसो दुनाटपरी पोखराबाट माग आउने गरेको छ,’ भावनाले भनिन्,‘जति धेरै उत्पादन गरे पनि बिक्री हुने समस्या छैन ।’ पोखरा हुँदै दुनाटपरी जापानसम्म निर्यात हुने गरेको बताउँदै भावनाले भनिन्, ‘जापानबाट उद्योगको अवलोकन गर्न आउन थालेका छन् ।’ एक सातामा २५ हजार रुपैयाँको दुनाटपरी बिक्री हुने गरेको भावनाले बताइन् । ‘एक महिनामा करिब एक लाख जतिको व्यापार हुन्छ,’ उनले भनिन् ।

धनगढी–१५ सुर्मी गाउँकी सुनितादेवी चौधरी चौधरी समुदायको मौलिक खाजा परिकार बेचेर एकै दिन पाँच हजारसम्म आम्दानी गर्छिन् । थारु समुदायको लोकप्रिय परिकार ढिक्रि अहिले अन्य समुदायमा रोजाइको खाजाका रुपमा परिचित छ ।

तातोपानीको बाफले पकाएर तयार गरिने चामलको पिठोको ढिक्री र थारु अचार, माछाका परिकार, अनदी चामलको भातका परिकारहरु बचेरै चौधरीले आम्दानी गरिरहेको बताउँछिन् ।

Rural women becoming self-employed

‘धनगढीमा आयोजित महिला उद्यमी मेलामा एकै दिन २३ हजारको व्यापार गरेँ । बचत पनि राम्रै भयो,’ सुनिताले भनिन् । धनगढी–१ की सुन्तली चौधरी पनि थारु समुदायकै परिकारको उत्पादन तथा बिक्री गरेर स्वरोजगार बनेकी छिन् ।

उनले खर्च कटाएर मासिक २० हजारसम्म बचत गर्ने गरेको बताइन् । धनगढी–१ की बिर्मा कामी फलाममा भान्छामा उपयोग हुने हसिया, चक्कुलगायत घरेलु कृषि कार्यमा उपयोग हुने फलामका औजार उत्पादन गरेर बिक्री गर्दै आएकी छिन् । बिर्माले पनि घरमै उत्पादित सामग्रीको बिक्रीबाट आफ्नो परिवार स्वरोजगार भएको बताइन् ।

धनगढी–३ की अनुकुमारी चौधरी ढकिया उत्पादन गर्छिन् । उनले परिवारका सबैलाई ढकिया उत्पादनमा लगाएकी छिन् । घरबाटै र मेला, पर्व र महोत्सवमा आफूले उत्पादन गरेका ढकिया, छाप्रालगायतका घरेलु सामग्री बिक्री गर्ने गरेर आफ्नो परिवार स्वरोजगार भएको चौधरीले बताइन् ।

धनगढी क्षेत्रमा थोरै लगानीमा उद्यममा गर्ने महिलाको संख्या बढिरहेको छ । धनगढी उपमहानगरपालिकाले महिला उद्यमीलाई प्रोत्साहित गर्ने योजना ल्याएपछि उनीहरु झन् हौसिएका छन् । उपमहानगरले दुई सातायता हरेक शनिबार धनगढीमा महिला उद्यमी मेला आयोजना गर्न थालेको छ ।

महिला उद्यमी मेलाका लागि उपमहानगरले हरेक शनिबार पार्क छेउको सार्वजनिक सडक किनारमा सरसफाई, स्टल निर्माण गरिदिन थालेको छ ।

Rural women becoming self-employed

‘शनिबारको दिन पार्क छेउमा ६० वटा स्टल बनाइदिने गरेका छौं । महिला उद्यमीहरुलाई मात्र स्थान दिइने ती स्टल निशुल्क हुन्छन्,’ उपमहानगरका रोजगार संयोजक चन्द्रबहादुर महराले भने ‘महिलाहरुलाई उद्यम तथा स्वरोजगार हुन उत्प्रेरणा मिलोस् भनेर गरिएको हो ।’

महराका अनुसार हस्तकलाका सामग्री, खाद्यवस्तु, सेल रोटी, बटुक, फाउने माणा, माला पोतेदेखि, सिरक डसनाहरु, बास बेतबाट बनेका सामग्री, उनी कपडालगायत महिलाहरुको व्यापारलाई प्रोत्साहित गर्न मेला व्यवस्थापन गर्न थालिएको हो ।

‘खानाकै परिकारमा एक जनाले २५ हजारसम्मको बिक्री गरेका छन् । ६० महिला उद्यमीमा २० हजार माथिको व्यापार गर्ने सात जना भन्दा बढी छन्,’ संयोजक महराले भने ‘स्टल व्यवस्थापन, पानीको प्रबन्ध, सुरक्षालगायत उपमहानगरले सबै निशुल्क गरेको छ ।’

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully