अवैध सामानसहित एक जना पक्राउ

मंसिर १७, २०८१

मनोज बडू

One person arrested with illegal goods

दार्चुला — गोकुलेश्वर बजार देवलबाट प्रहरीले अवैध सामानसहित एक जनालाई पक्राउ परेको छ । आइतबार अबेर साँझतिर शैल्यशिखर नगरपालिका-८ देवलस्थित एक घरबाट अवैध सामानसहित उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार  गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका–८ देवल बस्ने ५० वर्षीय रामदत्त जोशीको घरमा खानतलासी गर्दा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका सामानसहित शैल्यशिखर नगरपालिका–९ बस्ने ४२ वर्षीय वासुदेव जोशीलाई नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरका घोडा बिडी ३८ पेटी, चाबी सलाई ९ पेटी, हाईक्लास सुर्ती ३ पेटी र भारतीय चप्पल ३ सय ५९ जोर बरामद गरिएको प्रहरीले जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully