‘अनिष्ट’ हुने त्रासमा मन्दिरछेउको पुल तर्दैनन् महिला

महिनावारीमा पढाइ छुट्दा मारमा छात्रा

मंसिर ८, २०८१

मेनुका ढुंगाना

Women don't cross the bridge near the temple in fear of being 'bad'

अछाम — दैलेखको आठबीस नगरपालिका–६ की १४ वर्षीया कविता सिंह ठकुरी अछामको पञ्चदेवल विनायक नगरपालिका–९, चिल्तडास्थित चण्डिका माध्यमिक विद्यालयमा १० कक्षामा पढ्छिन् । गत असारयता उनी झन्डै महिना दिन कक्षामा अनुपस्थित भइन् । यसको कारण हो– नियमित आउजाउ गर्ने पुलमा लट्ठा चुँडिएको छ, विकल्पमा रहेको अर्को पुलछेउमा मन्दिर छ । महिनावारी भएका बेला त्यो पुल तर्न नमिल्ने ‘मान्यता’ छ ।

अछामको पञ्चदेवल विनायक–९ कालेकाँडा र दैलेख जोड्ने कर्णाली नदीमा रहेको झोलुंगे पुलमा गत जेठ २७ मा सामान बोकेका १३ खच्चडको भार थेग्न नसकेर लट्ठा चुँडिएको थियो । कोल्टे परेको उक्त झोलुंगे पुल अझै मर्मत गरिएको छैन । त्यसको विकल्पमा एक किलोमिटर टाढाको अर्को पुल तर्नुपर्छ । त्यस पुलमा दुवैतर्फ नैनेल देवताको मन्दिर छ । महिनावारीपछि पनि चार–पाँच दिनसम्मै पूजाआजा गर्न र मन्दिरनजिक जान नपाइने परम्परागत मान्यता रहेको स्थानीय बताउँछन् । ‘महिनावारी भएका बेला परीक्षा पर्‍यो, जरुरी पाठ पढाउने दिन भयो भने कोल्टे परेकै पुलबाट डरैडर स्कुल जान्छौं,’ कविताले भनिन्, ‘नत्र हरेक महिना स्कुल छुट्छ ।’

मन्दिरका कारण पुलमा आउजाउ गर्न नमिल्ने विश्वासका कारण चण्डिका माविमा कक्षा ८, ९ र १० का करिब २५ छात्राले महिनामा १० दिनजति पढाइ छुटाउँछन् । हाजिर नहुँदा प्रतिदिन २० रुपैयाँ जरिवाना तिर्नुपर्ने विद्यालयको नियम छ । ‘महिनावारी हुँदा मन्दिर भएको पुलबाट हिँडे अनिष्ट हुन्छ भन्छन्, हामीलाई पनि हिँड्न डरै लाग्छ,’ अर्की छात्रा गीता सुनारले भनिन्, ‘स्कुल नजाँदा पढाइ छुट्छ, स्कुललाई जरिवाना पनि बुझाउनुपर्छ ।’ 

गत जेठमा झोलुंगे पुलको लट्ठा चुँडिएपछि दैलेखपट्टिका विद्यार्थीलाई विकल्पको पुल प्रयोग गरेर विद्यालय पुग्न करिब एक घण्टा लाग्छ । ‘पहिलेको पुलबाट जाँदा त १० मिनेटमै स्कुल पुगिन्थ्यो,’ चण्डिका माविमा कक्षा ७ मा अध्ययनरत आठबीस–५ की तुल्सी चौलागाईंले भनिन् । 

पछिल्लो समय छात्रा अनियमित हुने क्रम बढेको चण्डिका माविका शिक्षक जनक न्यौपानेले बताए । ‘केही छात्रा जोखिम मोलेर विद्यालय आउने गर्छन् । अधिकांश छात्रा महिनावारीको १० दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्, हरेक महिना १० दिन पढाइ छुट्नु भनेको सामान्य होइन,’ उनले भने, ‘पहिले राम्रो पढाइ भएका छात्रा अहिले कमजोर हुँदै गएका छन् ।’

अछामतर्फ रहेको उक्त विद्यालयमा कक्षा ८, ९, १० दैलेखका विद्यार्थीका कारण मात्र चल्न सम्भव भएको पनि उनले बताए । शिक्षक न्यौपानेले मन्दिर भएकै पुलबाट आउन सुझाव दिँदा पनि छात्राहरू परापूर्वकालदेखि मनमा डर पैदा गरिएका कारण नआउने गरेको बताए । 

यस विषयमा संसदमा समेत कुरा उठेको थियो । सरोकारवालाले फिल्डमै प्राविधिक कर्मचारी पठाएर पुलको अवस्था अध्ययन गरेका थिए । प्राविधिक टोलीको प्रतिवेदनले ‘पुल मर्मत गरेर मात्रै सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले नयाँ निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्यो ।

समय बित्दै जाँदा सरोकारवालाले पनि त्यो घटना बिर्संदै गएको स्थानीयको गुनासो छ । घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण अछाम र दैलेखका कतिपय मानिसले कोल्टे परेकै पुलबाट जोखिम मोलेर पुल तर्ने गरेका छन् ।

मन्दिर रहेको पुल उनीहरूले तर्न नमिल्ने स्थानीयको विश्वास छ । ८ महिना पुगेका गर्भवतीले पनि मन्दिरनजिकको पुलबाट आवतजावत गर्न नमिल्ने मान्यता रहेको पञ्चदेवल विनायक–९ की भानादेवी कार्कीले बताइन् ।

‘गर्भावस्थामा अन्यत्र पनि पुल तर्नु हुँदैन भनिन्छ । झन् यहाँ त पुल छेउमा ठूलै देवताको मन्दिर भएकाले मिल्ने कुरै भएन,’ उनले भनिन्, ‘हाम्रो मुख्य बजार भनेकै दैलेखको खिड्कीज्युला हो । गर्भवती भएको ८/९ महिनामा पनि बजारतिर जानुपर्ने हुन्छ । मेडिकल पनि उतैतिर छन् । यही जीर्ण पुलबाटै नगई धर छैन ।’ 

पञ्चदेवल विनायक–९ का वडाध्यक्ष रामप्रसाद जैसी नैनेल देवताप्रति स्थानीयको धेरै विश्वास भएकाले महिला तथा किशोरीले डरले पुरानो चलन तोड्न नसकेको बताउँछन् । ‘अर्को पुल अपायक भएका कारण गर्भवती र महिनावारी भएका महिलाले लट्ठा चुँडिएकै पुलबाट दैलेखको खिड्कीज्युला बजार आउजाउ गरिरहेका छन्,’ उनले भने, ‘पुल बनाउने विषयमा सरोकारवाला मौन भइसके ।’

एक किलोमिटरको पुल पनि हालसालै बनेको वडाध्यक्ष जैसीले बताए । ‘तर त्यो लट्ठा चुँडिएको झोलुंगे पुलको विकल्पमा बनाइएको होइन, पहिलेदेखि निर्माण भइरहेको थियो,’ उनले भने ।

दुवैतिर नैनेल देवताको मन्दिर रहेका कारण कम्तीमा १० मिटर तल पुल बनाउन स्थानीयले पहिले नै आग्रह गरेको भए पनि सरोकारवालाले नसुनेको वडाध्यक्ष जैसीले बताए । ‘धार्मिक आस्थासँग जोडिएको विषय भएकाले तीन वर्षअघि सर्वेक्षण गर्दा नै अर्को ठाउँमा पुल बनाउन स्थानीयले आग्रह गरेका थिए तर प्राविधिक कर्मचारीले कुरा नसुनी स्थान छनोट गरे,’ उनले भने ।

नैनेल देवतालाई कर्णाली तारेर लैजाने क्रममा ठिटुवा (धागो) को रस्सी बनाएर सजिलै तार्न सकेको भन्दै सम्मानस्वरूप त्यस ठाउँको दुवैतिर मन्दिर बनाइएको उनले जानकारी दिए । ‘कच्चा धागोको पुल बनाएर सजिलै देवता तार्न दैवीय शक्तिकै कारण मात्र सम्भव भएको विश्वास गरिन्छ । यति ठूलो विश्वास गरिएको देवताको मन्दिर भएको ठाउँमा गर्भवती र महिनावारी भएकाहरू आफैं पनि जान डराउँछन्,’ उनले भने । 

पुल कोल्टे फर्केर खच्चड अड्किएको समयमा स्थानीय प्रशासनले पुल प्रयोगमा रोक लगाएको थियो । कर्णाली राजमार्गबाट अछामतिरका व्यवसायीले सामान एक घण्टाभन्दा बढीको बाटोबाट बोकेर ल्याउनुपर्ने भएकाले महँगी पनि बढेको वडाध्यक्ष जैसीको भनाइ छ । ‘१० मिनेट हिँडेर सामान पुर्‍याउने ठाउँमा अहिले एक घण्टा हिँड्नुपर्छ । पसलेहरूको ढुवानी खर्च बढेको भन्दै सामानको भाउ बढाएका छन्,’ उनले भने । 

नगरपालिकासँग भएको प्राविधिक जनशक्ति र स्रोतसाधनबाट नयाँ पुल निर्माण गर्न नसकिने पञ्चदेवल विनायक नगरकी प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘प्रदेशका मुख्यमन्त्री, भौतिक पूर्वाधारमन्त्री, संघीय सरकारको सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यालयका महानिर्देशकसँग पुल निर्माण गरिदिन आग्रह गरिरहेका छौं,’ उनले भनिन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully