१२ कक्षापछि कलेजको एकै ब्याचका चार विद्यार्थीले मावि शिक्षकमा सँगै नाम निकाले
कञ्चनपुर — प्रमाणपत्र तहदेखि स्नातकसम्म एकै कक्षामा अध्ययन गरेकाले एउटै पेशामा एकै पटक सरकारी जागिर पाउने संयोग थोरैलाई मात्रै जुर्छ । तर महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा सँगसँगै स्नातक तह उत्तीर्ण गरेका चार संगीले बुधबार माध्यमिक तहमा विज्ञान विषय शिक्षकमा एकै पटक नाम निकालेका छन् ।
शिक्षक सेवा आयोगले सुदूरपश्चिमका लागि निर्धारण गरेको कोटामा उनीहरुले बुधबार नाम निकालेका हुन् । २०७४ मा विज्ञान विषयमा स्नातक गरेपछि उनीहरु सबै शिक्षण पेशामै थिए । उनीहरुले शिक्षण सँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेका थिए ।
बुधबार आयोगको नतिजा सार्वजनिक भएपछि उनीहरुलाई सामाजिक सञ्जालमा बधाईको ओइरो छ । चारै जनाको तस्बिर यतिबेला धेरैले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेर बधाई दिइरहेका छन् । आयोगले गत वर्ष पुस ९ गते खोलेका विज्ञापन अनुसार चारै जनाले आवेदन दिएका थिए ।
जस अनुसार चैतमा पहिलो र जेठमा दास्रो तहको परीक्षा भएको थियो । बुधबार अन्तरवार्ता भएको थियो । ‘यो मिठो संयोग हो, एउटै ब्याचका हामी चार जनाले सँगै नाम निकाल्न सफल भएका छौं,’ मावि तहको शिक्षकमा नाम निकालेपछि बिहीबार घर फर्किदै गरेका बैतडीको पुर्चौडीका गोविन्दबहादुर धामीले भने, ‘उच्च शिक्षा अध्ययनमा पनि हामी निकै प्रतिष्पर्धी थियौ, सबैले निकै मिहनेत गरेर पास भएका हौं ।’
एसएलसीसम्म पुर्चौडीमै अध्ययन गरेका धामी सधैं प्रथम हुन्थे । उच्च माध्यमिक तहदेखि स्नातकोत्तरसम्म पनि उनी प्रथम भए । प्राथमिक तहसम्मको अध्ययन घरनजिकैको विद्यालयमा गरेपछि निमावि र मावि तहको अध्ययनका लागि भने उनले एक/डेढ घण्टा पैदल हिड्नुपर्थ्यो ।
मध्यम परिवारमा जन्मेका र घरको मुख्य पेशा कृषि भएकाले उनलाई उच्च शिक्षा अध्ययन त्यति सजिलो थिएन । त्यही भएर १२ कक्षा सकेर उनले अध्ययन र अध्यापन सँगै अगाडि बढाए ।
‘पास हुने बितिक्कै बुवा र आमालाई फोन गरे, दुवैले बधाई दिनुभयो,’ धामीले भने, ‘ऋणदान गरेर पढाएकाले बुवा आमा दुवै भावुक हुनुभयो, त्यसपछि मैले पनि आफ्नो मिहनेत र आमाबुवाका दुख सम्झिए ।’
सरकारी जागिरे हुने उनी परिवारकै पहिलो व्यक्ति हुन् । ६ वर्षदेखि शिक्षण पेशामै रहेका उनी अहिले पनि डडेलधुराको महेन्द्र माविमा उच्च माविको करार कोटामा अध्यापन गराइरहेका थिए । त्यसअघि उनले आफैले मावि तहसम्म अध्ययन गरेको पुर्चौडीको गलेश्वर माविमा ३ वर्ष र कैलालीको अत्तरियास्थित एपेक्स माविमा पनि २ वर्ष अध्यापन गरे ।
‘इण्टर पास भएर शिक्षण पेशामा लागे पनि शिक्षक नै हुने रहर जागेको थियो, अब त्यो पूरा भयो,’ धामीले भने, ‘अब सुदूरपश्चिममै पढाउन पाइने भयो, यो मेरा लागि राम्रो कुरा हो ।’
कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडाका माधवराज पन्त पनि धामीझैं अध्ययनसँगै अध्यापनमा लागेका हुन् । दुवै जनाले २०७७ मा एकसाथ विज्ञान विषयमै स्नातकोत्तर पनि उत्तीर्ण गरेका थिए ।
दार्चुलाको लेकम गाउँपालिका पुर्ख्यौली घरभएका पन्त पछिल्लो समय दोधारा चाँदनी नगरपालिका–३ मा रहेको शंकर पार्वती माविमा विज्ञान विषय अध्यापन गराइरहेका थिए । त्यसअघि उनले ३ वर्ष बझाङ जयपृथ्वी नगरपालिकामा पनि अध्यापन गराए । शिक्षक सेवाको परीक्षा यसअघि दुई पटक दिए पनि सफल हुन सकेका थिएनन् । अध्ययन र अध्यापनसँगै राम्रो तयारी हुन नसकेको उनी बताउँछन् । संयोग नै मान्नुपर्छ धामी र पन्त दुवैले तेस्रो पटकको प्रयासमा नाम निकाल्न सफल भएका हुन् ।
डोटीको जोरायल गाउँपालिका–३ की बिमला ओझा पनि ४ वर्षदेखि शिक्षण पेशामै थिइन् । पछिल्लो समय उनी गोदावरीकै दुर्गा मावि कोल्मडामा मावि तहमा संघीय अनुदान कोटामा अध्यापन गराइरहेकी थिइन् । ओझाका बुवा पनि शिक्षक नै थिए । उनका श्रीमान् कृष्णराज ओझा बैतडीको पाटनमा आधारभूत तहका स्थायी शिक्षक हुन् ।
दाईहरु पनि शिक्षण पेशामै छन् । त्यही देखेर उनलाई शिक्षक हुने रहर थियो । उनले समावेशी तर्फको महिला कोटामा पहिलो नम्बरमै नाम निकालेकी हुन् । शिक्षक सेवा आयोगले खुल्लातर्फ ६ जना र समावेशीतर्फ ५ जनाको गरी सुदूरपश्चिमका लागि ११ जनाको दरबन्दीमा आवेदन माग गरेकोमा १० जना मात्रै पास हुन सके ।
‘हामी संगै पढ्थ्यौं, स्थायी पनि सँगै भयौं, निकै खुसी लागिरहेको छ,’ ओझाले भनिन्, ‘पढाइमा पनि निकै मिहनेती थयौं, अहिले पनि सबैले राम्रै मिहिनेत गरेका थियौं ।’
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका अम्बादत्त पन्त आफ्नो ब्याचमेट चारै जनाको सँगै नाम निस्किदा निकै उत्साहित छन् । ‘परीक्षा सुरु भएकै दिनदेखि हामी चारै जना पास हुनुपर्छ भन्ने मनमा लागिरहन्थ्यो, ठ्याक्कै त्यही भइदियो पनि,’ पन्तले भने, ‘निकै खुशी छु, संगै पढेका साथीहरु सँगै सरकारी जागिरे पनि भयौं ।’
२७ वर्षीय पन्त घरका जेठा छोरा हुन् । उनको परिवार कृषिमै आश्रित थियो । आमा बुवा कृषक नै हुन् । गाउँकै विद्यालयमा संघीय अनुदान कोटामा कालागौडीकै शिवशक्ति मावि तहमा अध्यापन गराउन थालेपछि परिवारको आम्दानीको स्रोत बढेको हो । पन्तले दोस्रो पटकको प्रयासमा नाम निकाल्न सफल भएका हुन् ।
सानैदेखि शिक्षक नै हुने इच्छा राखेका उनलाई विज्ञानमा स्नातक गरेपछि घरनजिकै अध्यापन गराउने अवसर मिलेपछि त्यो सपना पूरा गर्ने बाटो खुलेको हो ।
त्यहाँ पढाउने अवसर नपाएको भए सायद अन्तै पनि हुन सक्थे । बुधबार बिहान आयोगको कार्यालयमा भएको अन्तरवार्ताको नतिजा करिब ५ बजेतिर सार्वजनिक भयो । नतिजा हेर्न चारै जना सँगै भएकाले त्यतिबेला झनै आनन्द आएको उनले बताए ।
‘यो संयोग मात्रै थिएन, हाम्रो मिहनेत र एउटा सपना पनि थियो,’ उनले भने, ‘सबै साथीहरु सफल हुँदाको खुशी बेग्लै हुँदो रहेछ ।’
