चीनले प्रवेश अनुमति नदिँदा ताक्लाकोट हिंडेका व्यापारी र तीर्थयात्री बाटाेमै अलपत्र

तिब्बती क्षेत्रमा चराउन लगिएका २ हजारभन्दा बढी भेंडा–च्यांग्रा पनि फर्काइए

श्रावण २१, २०८१

वसन्तप्रताप सिंह

Traders and pilgrims walking to Taklakot are stranded on the road as China does not allow them to enter

बझाङ — जयपृथ्वी नगरपालिका–१, कैलाशका चन्दबहादुर सिंह, भक्त सिंह, हिक्मत सिंह, उमेश सिंह र महेन्द्र सिंह १६ दिनदेखि नेपाल–चीनको सीमा नजिक पर्ने तिब्बती भूमि ठाडोढुंगामा बसिरहेका छन् । साउन ५ मा उनीहरू तिब्बतमा रहेको मानसरोवरको जल ल्याउनका लागि घरबाट हिँडेका हुन् । कोरोनाका कारण चीनले नाकाबन्दी गरेपछि पाँच वर्षदेखि रोकिएको मष्टा देवताको कुलपुजाका लागि मानसरोवरको जल ल्याउन उनीहरू अहिले तिब्बततर्फ हिंडेका थिए ।

घरबाट पैदल हिँडेको पाँचौं दिन उनीहरूलाई तिब्बतको कठान नजिकै तिज्ममा रहेको चिनियाँ सुरक्षाकर्मीको पोस्टबाट फिर्ता पठाइएको हो । ‘अहिले प्रवेश अनुमति छैन । पछि खुलेपछि आउनू भनेर चिनियाँ सुरक्षाकर्मीले फिर्ता पठाए,’ टोलीमा रहेका चन्दबहादुर सिंहले भने, ‘त्यसपछि एक दिन हिँडेर यहाँ ठाडोढुंगामा आएर बसेका हौं । हामी ठूलो समस्यामा परेका छौं ।’ आफूहरूले बोकेर लगेको सामल सकिएको बताउँदै उनले नयाँ आउनेहरूले ल्याएको सामल किनेर अहिले खाइरहेको पनि बताए । 

निगालोका डोको, भकारी, मान्द्रा लगायत सामान ताक्लाकोटमा बिक्री गर्न हिँडेका साइपाल गाउँपालिकाका गोरख लामा, खिमलाल लामा लगायतको सात जनाको टोलीलाई पनि तिज्ममा रहेका चिनियाँ सुरक्षाकर्मीले फर्काइदिएका छन् । अहिले उनीहरू त्यहाँबाट दुई दिन हिँडेर हुम्लाको हिल्सा नाकातर्फ लागेका छन् । ‘बोकेको सामल खाएर कहिले खुल्छ भनेर कुर्नुभन्दा हिल्साबाट जान पाइन्छ कि भनेर त्यता हिँडेका हौं,’ हुम्लाको टौवेनबाट टेलिफोनमा गोरखले भने, ‘अरू थुपै मान्छे नाका खुलेपछि जाउँला भनेर ठाउँठाउँमा पाल हालेर बसेका छन् ।’ चीनको पुराङ काउन्टीअन्तर्गत पर्ने बैंस, ठाडोढुंगा र नेपालतर्फको साइपाल, चौरापानी, कालंगा लगायत ठाउँमा एक सयभन्दा बढी मानिस बसिरहेको पनि उनले बताए । 

‘थुप्रै मान्छे बाटोमा अलपत्र परेका छन् । सामल सकिएर समस्यामा परेकाहरू कतिपय उता नगएरै फिर्ता पनि हुन थालेका छन्,’ सीमावर्ती साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘उत्तिकै संख्यामा मानिसहरू चाइनातर्फ गइरहेका पनि छन् । तर उता एक जनालाई पनि प्रवेश गर्न दिएको छैन ।’ उनले चीन प्रवेशलाई सहज बनाउनका लागि समन्वय गरिदिन आफूहरूले परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरिरहेको भए पनि सफल हुन नसकेको बताए । 

जिल्ला प्रशासन कार्यालयबाट बझाङका १० जना महिलासहित १ सय ११ जनाले चीन प्रवेश अनुमति पत्र लिइसकेका छन् । उनीहरूमध्ये धेरैजसो तिब्बतमा रहेको मानसरोवर तालबाट जल ल्याउन जानेहरू र स्थानीय व्यापारीहरू रहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुईंकेलले बताए । ‘अहिले ताक्लाकोट प्रवेश गर्न दिएको छैन । खुलेपछि जानुहोस् भनेर मैले सबैलाई जानकारी गराएको हो,’ कुईंकेलले भने, ‘हाम्रो देउताले दिएको साइतमा हिँड्नु पर्छ भनेर धेरैजसो गइसक्नु भएको छ । उता प्रवेश गर्न दिएको छैन ।’ साउन २४ मा मात्रै प्रवेश गर्न दिने भन्ने जानकारी आएको पनि उनले बताए । Traders and pilgrims walking to Taklakot are stranded on the road as China does not allow them to enter

चीनको ताक्लाकोट बजार   । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर 

उता तिब्बतको ताक्लाकोटमा रहेका बझाङका व्यापारी जगत तामाङले बझाङतर्फको नाकामा पर्ने लुक्पु खोलामा पुल र सडक कालोपत्र गर्ने काम भइरहेकाले उक्त काम सम्पन्न नहुन्जेल प्रवेश नदिने ताक्लाकोट प्रशासनले आफूलाई जानकारी दिएको बताए । प्रत्येक अंग्रेजी महिनाको ८, ९, १० र ११ तथा २०, २१, २२ र २३ तारिखमा मात्रै बझाङको नाकाबाट प्रवेश गर्न दिने जानकारी ताक्लाकोटमा रहेको वैदेशिक मामिला हेर्ने कार्यालय पब्लिक सेक्युरिटी व्युरोले दिएको उनको भनाइ छ ।

‘निर्माणको काम सम्पन्न नहुन्जेल खुल्ने भनेको दिन पनि प्रवेश दिँदैनौं भनेर भनेका छन् । काम कहिले सकिन्छ भन्न सकिन्न,’ तामाङले कान्तिपुरसँग भने, ‘निर्माण सम्पन्न भइसकेपछि तोकिएको दिनमा मात्रै ताक्लाकोटसम्म आउन दिन्छौं । त्यही जानकारी गराइदिनु भनेका छन् ।’ बझाङबाट ताक्लाकोटसम्म मात्रै प्रवेश दिने तिब्बत प्रशासनको नीति भएकाले मानसरोवरको जल ल्याउनका लागि नआउन समेत भनेको उनले बताए । 

केही दिनअघि हुम्लाका केही व्यक्तिले बझाङको बाटो भएर अवैध रूपमा जडिबुटी तिब्बत पुर्‍याएर फरार भएको र सोही कारण देखाउँदै बझाङको नाकाबाट मान्छे भित्र्याउन तिब्बत प्रशासन अनिच्छुक देखिएको बझाङका व्यापारी तामाङले सुनाए । उक्त घटनापछि तिब्बती क्षेत्रमा चराउन लगिएका २ हजारभन्दा बढी भेंडा–च्यांग्रा पनि फर्कादिएको उनले बताए । ‘अहिले पहिलाको जस्तो छैन । यहाँ धेरै कडाइ गरिएको छ,’ उनले भने, ‘राम्रोसँग बुझेर मात्रै आउँदा ठिक हुन्छ । नत्र दुःख मात्रै पाइन्छ ।’ 

कोभिड–१९ संक्रमणको कारण देखाउँदै पाँच वर्षअघि नाका बन्द भएरपछि बझाङको तिब्बतसँगको धार्मिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध अवरुद्ध भएको छ । मानसरोवरको जल ल्याउन नपाउँदा बझाङका २ सयभन्दा बढी मन्दिरको पूजाआजा पनि रोकिएको छ । 

यस्तै हस्तकला र निगालोका सामान, गाउँमा उत्पादन भएको टिमुर, उवा, जौ, गुराँस, मुसुरोको दाल, खुर्सानी आदि लिएर तिब्बतमा बिक्री गर्ने र त्यहाँबाट फर्किंदा ल्याएको सामान गाउँमा बिक्री गर्दै आएका थुप्रैको व्यापार पनि बन्द भएको छ । साइपाल, तलकोट, मष्टा, खप्तडछान्ना, छविस, दुर्गाथली गाउँपालिका तथा बुङ्गल र जयपृथ्वी नगरपालिकाका भेडापालकहरूको तिब्बती गाउँका स्थानीयसँग कायम भएको मितेरी सम्बन्ध पनि संकटमा परेको छ । यहाँका कतिपय परिवारको त सात/आठ पुस्तादेखिको सम्बन्ध अहिलेसम्म निरन्तर छ । Traders and pilgrims walking to Taklakot are stranded on the road as China does not allow them to enter

बझाङको उरैमा रहेको चीन–नेपाल सीमास्तम्भ 

उरै नाका बन्द भएपछि तिब्बतमा मौसमी रोजगारी गरेर आम्दानी गरिरहेकाहरू पनि अहिले बेरोजगार भएका छन् । कोरोनाभन्दा पहिले यहाँका स्थानीयले मौसमी ज्यालादारी काम गरेर राम्रो आम्दानी गरिरहेका थिए । मालबाहक गाडी लोड अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने, केराउ, उवाबाली (जौ जस्तै उच्च हिमालमा फल्ने बाली) काट्ने तथा चुट्ने र निर्माणको काममा मजदुरी गर्न यहाँबाट प्रत्येक वर्ष युवाहरू ताक्लाकोट र आसपासका गाउँमा रोजगारीका लागि जाने गर्थे । 

कामको प्रकृति र दक्षता हेरेर दैनिक मजदुरी गरेबापत उनीहरूले १ सय ५० देखि ३ सय युयान (करिब २ हजार ५ सयदेखि ५ हजार ५ सय नेपाली रुपैयाँ) सम्म कमाउँथे । बर्खाका चार/पाँच महिना यहाँ मजदुरी गर्नेहरूले राम्रो रकम कमाउने गरेकामा नाका बन्द भएपछि आम्दानीको त्यो बाटो पनि बन्द भएको स्थानीय बताउँछन् । ‘खर्च कटाएर एक सिजनमा चार/पाँच लाख रुपैयाँ कमाइ गर्थे । नाका बन्द भएपछि त्यो पनि रोकिएको छ,’ साइपालका पूर्वअध्यक्ष राजेन्द्र धामीले भने, ‘ताक्लाकोट खुला हुँदा गाउँमा कोही युवा पनि खाली हात हुन्थेनन् । अहिले त सब बेरोजगार भएका छन् ।’

सन् १९६१ मा नेपाल–चीनबीच भएको सीमा सन्धिपछि पानी ढलोका आधारमा सीमा छुट्याउने सहमति भएसँगै साल्सुगंगा (तिब्बत कर्णाली)सम्मको नेपालको ठूलो जमिन तिब्बततर्फ परेको थियो । यद्यपि, सीमा सन्धिमा सीमा क्षेत्रमा बसोवास गर्नेहरूले परम्परागत गतिविधि गर्न स्थानीय प्रशासनले दिएको अनुमति पत्रका आधारमा अर्को देशको ३० किलोमिटर क्षेत्रसम्म आवतजावत गर्न मिल्ने व्यवस्था छ । 

यो नाका खोलेर पूर्ववत् संचालन गर्नुपर्ने भन्दै दबाब सिर्जना गर्न बझाङका स्थानीय तथा जनप्रतिनिधिहरू अहिले दैनिक सिंहदरबार धाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेटेर यो समस्याबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म कुनै समाधान निस्किएको छैन ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully