बुढीनन्दा घुम्नेलाई नि:शुल्क खाना, बास र गाइड

श्रावण १४, २०८१

वसन्तप्रताप सिंह

Free food, accommodation and guide for those visiting Budhinanda

बझाङ — बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा घुम्न चाहनेका लागि नि:शुल्क खाना, बास र पथप्रर्दशकको व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलाका लागि बुढीनन्दा पुग्नेहरूलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो ।

बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह 'वाइल्ड बाजुरा'ले नि:शुल्क यात्राको व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ । हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तिर्थ यात्रा जनै पुर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर समुन्द्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण ठूलो संख्यामा तिर्थयात्रीहरू यहाँ आउने गर्छन् । 

Free food, accommodation and guide for those visiting Budhinandaयो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट सुरु हुने उक्त धार्मिक यात्रा छाप्रे पाटन, लौडी विनायक, बरमाग्ने, चडिदह, धौलीपाटन, धौली भँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन हुनेछ । यात्रा अवधिभरि यात्रीलाई दुई छाक भोजन र रात्रीबासको लागि टेन्टको व्यवस्था गरिने वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले बताए ।

बुढीनन्दा यात्राका दौरान आफूले बोकेको खानेकुरा अन्य यात्रीलाई पनि बाँडेर खाने चलन रहेको छ । ‘पुरानो चलनलाई जोगाउन र तिर्थयात्रीको यात्रा सहज होस् भन्नका लागि यो वर्षदेखि खाना र बास नि:शुल्क गर्न लागेका हौं,' रेग्मीले भने, ‘यसको लागि बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग गर्ने र वाइल्ड बाजुराले यात्राको व्यवस्थापन गर्ने सहमति भएको छ ।' उनले बुढीनन्दा आसपास रहेका दर्शनीय स्थलहरू धौली पाटन,  महारुद्र ताल, कैलाश ताल र खेतीबेतीलगायतका ठाउँ घुम्न चाहानेहरूका लागि पथप्रर्दशक पनि नि:शुल्क उपलब्ध गराइने बताए । 

Free food, accommodation and guide for those visiting Budhinanda

ठूल्ठूला पाटन र करिब एक दर्जन संख्यामा रहेका ताल यहाँको मुख्य पर्यटकीय गन्तव्यमध्ये पर्छन् । यहाँबाट मुगु, हुम्ला, कालिकोट लगायतका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाको दृष्य देखिन्छ भने बझाङमा रहेको साइपाल र जेठीबहुरानी लगायत हिमालको दृष्यावलोन पनि गर्न सकिन्छ । बर्खाका चार महिना बुढीनन्दा क्षेत्र आसपास स्थानीयहरूले भेडाच्याङग्रा, भैंसी र घोडा चराउने खर्क बनाउने गरेका छन् । अरू समय  यो क्षेत्र प्राय: हिउँले ढाकिएको हुन्छ । अनेक जडिबुटी पाइने यस क्षेत्रका पाटनहरू विभिन्न खालका भुँइफुलले ढकमक्क ढाकिएका हुन्छन् । बाजुराको सदरमुकाम मार्तडीबाट कालाजाग्रा पाण्डुसैन हुँदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगञ्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर बुढीनन्दा जाँदा यात्रा अवधी छोट्याउन सकिन्छ । 

Free food, accommodation and guide for those visiting Budhinanda

पर्वतीय पदयात्राका लागि अत्यन्तै आर्कषक गन्तव्य हुनसक्ने सम्भावना भए पनि प्रचार-प्रसार हुन नसकेको भन्दै बुढीनन्दा नगरपालिकाले यस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न प्रयास गरिरहेको बताएको छ । गत वर्ष यही मेलाको अवसर पारेर नगरपालिकाले बुढीनन्दामै कार्यपालिकाको बैठक समेत राखेको थियो । ‘यो वर्ष पनि हामीले यात्राको सम्पूर्ण तयारी गरिसकेका छौ‌ँ,' नगरपालिकाका प्रमुख जनक बोहराले भने, ‘नि:शुल्क खाना, बासको व्यवस्था गर्दा यात्रामा धेरै मान्छेहरू आउने र यो क्षेत्रको प्रचार-प्रसार हुने आशा गरेका छौँ ।' उनले यात्राका दौरान आवश्यक पर्ने स्वास्थ्य उपचार, उपचार टोली, स्वयंसेवक र अन्य तयारी नगरपालिकाले गरिरहेको बताए । 

Free food, accommodation and guide for those visiting Budhinanda

Free food, accommodation and guide for those visiting Budhinanda

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully