सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

एमाले अनिर्णित

वैशाख २१, २०८१

अर्जुन शाह

Although the Chief Minister of the Far West is preparing to take the vote of confidence, the basis of getting majority is still uncertain

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

सोडारीलाई मुख्यमन्त्री नियुक्तिमा समर्थन गरेको एमाले अनिर्णित हुँदा सबैभन्दा धेरै अन्योल उत्पन्न भएको छ । एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले शुक्रबार विश्वासको मत लिने दिनेमा संसदीय दलमा कुनै निर्णय नभएको बताइन् । ‘हाम्रो पार्टी मुख्यमन्त्रीले विश्वासको मत लिन हतारो गर्न नहुने पक्षमा हो,’ उनले भनिन् ‘हामीले औपचारिक रुपमा कुनै निर्णय गरेका छैनौं ।’ 

एमाले स्थायी कमिटिका सदस्य कर्णबहादुर थापाले बझाङको उपनिर्वाचनमा एकीकृत समाजवादीले समझदारी उल्लंघन गरेकोले विश्वासको मतका विषयमा सोच्न बाध्य हुने अवस्था सिर्जना भएको बताएका छन् ।

विश्वासको मतको कार्यसूची निर्धारण गर्न शुक्रबार बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आव्ह्रान गरिएको थियो । तर उक्त बैठक पूर्व निर्धारित समयमा बस्न सकेको छैन । 

यसै बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेपाली कांग्रेस संसदीय दलले विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रियाको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्रीले दर्ता गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको संसदभित्र र बाहिर कडा प्रतिवाद गर्ने निर्णय गरिएको संसदीय दलका नेता कमलबहादुर शाहले बताएका छन् । 

अर्कोतिर सुरुदेखि विभाजित रहेका नागरिक उन्मुक्ति पार्टीका सांसदहरु विश्वासको मतमा पनि दुई खेमामा विभाजित हुने देखिएका छन् । कूल सात जना सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना सांसद (रेशम पक्षधर) विश्वासको मत नदिने पक्षमा देखिएका छन् ।

प्रमुख सचेतक खुसीराम डगौरा थारुले शुक्रबार विश्वासको मतको पक्षमा मतदान नगर्न ह्वीप जारी गरेका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ  पक्षधर रहेका दुई जना सांसद भने मत दिने पक्षमा छन् । कैलाश चौधरी र टीका थापा दुई जना सोडारी मन्त्रिपरिषद्‍मा मन्त्री छन् । 

यता एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले प्रदेशमा एमाले अनिर्णित भएकाले प्रधानमन्त्री र एमाले अध्यक्षको तहमा छलफल भइरहेकाले त्यसको निष्कर्षपछि मात्रै यकिन हुने बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully